• २७ कात्तिक २०८२, बिहिबार

प्रादेशिक अस्पतालमा एमआरआई सेवा

blog

बुटवल समाचारदाता 

बुटवल, कात्तिक २७ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ करोड रुपियाँको लगानीमा एमआरआई मेसिन जडान सुरु भएको छ । अस्पतालमा एमआरआई मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेसिन जडानको काम अघि बढाएको हो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले मेसिन जडान गरी आगामी दुई महिनाभित्र सेवा सुरु गर्ने लक्ष्यसहित तीव्रतासाथ जडानको काम भइरहेको जानकारी दिनुभयो । 

मेसु ढकालले लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न सुरु गरिएको एमआरआई मेसिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालमा गएर महँगोमा सेवा लिनुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो । 

बहिरङ्ग सेवातर्फ वार्षिक करिब चार लाख बिरामीले सेवा लिने यो अस्पतालमा लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट उपचारका लागि आउने गरेका छन् । 

एमआरआई मेसिन निर्यातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरका इन्जिनियर राजु चौधरीले यही कात्तिक १७ देखि मेसिन जडानको काम सुरु भएको बताउँदै आगामी मङ्सिरको अन्तिमसम्म जडानको सम्पूर्ण काम सक्ने लक्ष्यसहित तीव्रतासाथ काम भइरहेको जानकारी दिनुभयो । 

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रदेशकै ठुलो यस अस्पतालमा थप उपकरण जडान तथा सेवालाई गुणस्तरीय बनाउन अस्पताल विकास समितिले पहल गर्दै आएको बताउनुभयो । 

सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई पूरा गर्न सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिने श्रेष्ठको भनाइ छ । 

लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो ११५ वर्षअघि स्थापना भएको यो अस्पतालले सेवालाई विशिष्टीकृत गर्दै लगेको र उपकरण थप गर्नुका साथै सेवा सरलीकरणलाई समेत जोड दिएको दाबी गरेको छ । मेसु ढकालले अस्पतालमा एमआरआई मेसिन जडानसँगै नयाँ सिटी स्क्यान मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । 

हाल अस्पतालमा रहेको मेसिन पुरानो र बारम्बार बिग्रिने समस्या भएकाले सङ्घीय सरकारको आर्थिक लगानीमा नयाँ मेसिन खरिद प्रक्रिया अघि बढाउन लागिएको उहाँको भनाइ छ । यो मेसिन जडान भएको अवस्थामा मुटुको स्क्यान पनि गर्न सकिने भएकाले उपचारमा थप गुणस्तर र सहज हुने अस्पतालको भनाइ छ ।