तानसेन समाचारदाता
तानसेन, कात्तिक २७ गते । पाल्पाको तिनाउ–४, सत्यवतीमा पाँच दिनसम्म चलेको वर माग्ने मेलामा सहभागी भक्तजनले चढाएका भेटी गणना कार्य अझै सकिएको छैन । भेटी गणना गरेको छैटौँ दिनसम्म ३४ लाख ५० हजार गणना भएको सत्यवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
ठुला नोट गणना सकिएको र अहिले साना नोट गणना भइरहेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । गाहाका अनुसार पाँच र १० रुपियाँका भेटी बढी भएको र नोटमा अबिर लागेकाले छुट्याएर गणना गर्दा ढिलो भएको छ । अध्यक्ष गाहाले यस वर्षको मेलामा भक्तजनले चाँदी र सुनका गहनासमेत सत्यवती बज्यैलाई चढाएको बताउनुभयो । सत्यवती बज्यैलाई चिच्याएर वर माागे पुग्ने विश्वासले भक्तजनले चाँदीका पाउजु, हातमा लगाउने ब्रासलेट र घाँटीमा लगाउने सिक्री चढाएका थिए । यस्तै सुनको जन्तरसमेत मेलामा सहभागी भक्तजनले चढाएको समितिले जनाएको छ ।
सत्यवतीमा पछिल्लो तीन वर्षयता पारदर्शी रूपमा भेटी गर्न गणना गर्न थालिएको हो । गत वर्ष ३२ लाख ८१ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो । यस वर्षको भेटी पूरै गणना सकिएपछि थप जानकारी दिइने समितिले जनाएको छ ।
पाल्पाका धार्मिक संस्थामा सत्यवतीमा मात्र पारदर्शी रूपमा भेटी गणना हुने गरेको छ । तिनाउकै सिद्धबाबा मन्दिर, रिब्दीकोटको भैरवस्थान मन्दिर, तानसेनको ऋषिकेश मन्दिर, रम्भाको रम्भादेवी मन्दिरमा भने भेटी गणना पारदर्शी हुन नसकेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
सत्यवतीमा सङ्कलित भेटीबाट मन्दिरको विकास तथा सत्यवती तालसम्म आउने सडक पूर्वाधार विकासमा खर्च गरिने समितिले जनाएको छ । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय तिनाउ गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको सहकार्यमा मन्दिर वरपर आवश्यक पूर्वाधार शौचालय, सडक, खानेपानी, भक्तजन विश्रामस्थलका लागि सङ्कलित भेटी खर्च गरिने बताउनुभयो । सत्यवती क्षेत्रमा परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ । तिनाउ–४ का अध्यक्ष तुलबहादुर आलेले सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको बताउनुभयो ।