जुम्ला समाचारदाता
जुम्ला, कात्तिक २७ गते । यहाँको चन्दनाथ नगरपालिका–८, तलिउमकी ४० वर्षीय दर्शना दमाई करिब एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल बेडमै जीवन बिताइरहनुभएको छ ।
एक वर्षअघि घरको भ¥याङबाट लड्दा उहाँको मेरुदण्ड भाँचिएको थियो । मेरुदण्ड भाच्चिएपछि बिरामी आमाको हेरचाहका लागि एक वर्षदेखि ११ वर्षीय छोरा विकास दमाईं कुरुवा भएर बस्नुभएको छ । आमालाई कुर्नु परेपछि विकासले आफ्नो पढाइसमेत छोड्नु परेको छ ।
दर्शनाका श्रीमान्को मृत्यु भइसकेको छ । एक वर्षदेखि आमा अस्पतालकै बेडमै उपचाररत रहेपछि विकासको बास पनि अस्पतालमै छ । उहाँ आफ्नी बिरामी आमाको सिरानीमा बसेर आमा निको हुने दिन कुरिरहनुभएको छ ।
विकास भन्नुहुन्छ, “बाबा बित्नुभयो, आमाको मेरुदण्ड भाँचियो, मलाई भात खान दिने मान्छे छैन, म स्कुल कसरी जानु ? त्यसैले म यही अस्पतालमै आमाको हेरचाहमा बसेको छु ।” आमा बिरामी नहुँदासम्म विकास जातिभिडस्थित विद्यालयमा पढ्नुहुन्थ्यो तर आमा अस्पताल बिरामी भएर थला परेपछि आफूले पढाइ छोड्नु परेको उहाँले बताउनुभयो । आमा दर्शनाले पनि पढ्ने त कहाँ, खाना खाने र बस्नेसमेत छोराको व्यवस्था नहुँदा आफ्नो बेडनजिकै आएर बस्ने र अस्पतालबाटै खाना खाने गरेको बताउनुभयो । उहाँले भन्नु्भयो, “मेरै चिन्ताले श्रीमान् बित्नुभयो, छोराको यस्तो हालत छ, छोरालाई कसैले सहयोग गरिदिनुहुन्थ्यो कि ?”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कार्यरत दर्शनाको शरीरको तल्लो भाग चल्दैन । उहाँ आफैँ खाना खान, शौचालय जान सक्नुहुन्न, पहिले श्रीमान्ले स्याहारसुसार गर्थे, उहाँको मृत्यु भएपछि अहिले भाइले उहाँको हेरविचार गरिरहनुभएको छ । भाइले पनि आफूलाई स्याहार गर्ने कि छोरालाई अस्पतालमा पाल्ने समस्या भइरहेको उहाँले बताउनुभयो । दर्शनाको उपचार कर्णाली प्रतिष्ठानले निःशुल्क गरिरहेको छ ।
उहाँले पढ्ने मन गरेको आफ्नो छोराको हेरविचार र पढाइमा सहयोग गरिदिन मनकारीलाई आग्रह गर्नुभएको छ । बिरामी आमा र कमजोर अवस्थाका कारण विकासले पढाइ छोड्नु परेको स्थानीय बताउँछन् ।