बाजुरा समाचारदाता
बाजुरा, कात्तिक २७ गते । समाज रूपान्तरण गर्नका लागि यति बेला बाजुराका विभिन्न गाउँबस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।
परम्परादेखि समाजमा कायमै हुँदै आएका जातीय विभेद तथा छुवाछुत छाउप्रथा जस्ता कुसंस्कार रोक्नका लागि पछिल्लो समय यहाँका स्थानीयले गाउँमा कचहरी लगाउने गरेका छन् । पुराना पुस्ताले यसरी अगाल्दै आएको जातीय विभेद तथा छुवाछुतका कारण अहिले यहाँका नयाँ पुस्तालाई असर पार्दै गएकाले गाउँ गाउँमा कचहरी सुरु गर्ने गरेको खप्तड छेडेदह गाउँपालिका–७ का पुष्पा रावतले बताउनुभयो ।
उहाँले भन्नभुयो, “म गैरदलित परिवारमा पर्छु । मेरो घरमा पहिला मेरो बुवाआमा कुनै पनि दलितलाई मेरो घरमा पस्न दिनु हुन्थेन । मलाई यो कुराले सधैँ टाउको दुखाइ हुने गथ्र्यो । एक मानवले अर्को मानवलाई यसरी विभेद गर्नु पर्छ भन्ने कुरा पनि मैले कुनै किताबमा पढेको थिइनँ ।”
गाउँघरमा भएको जातीय विभेद छुवाछुत छाउप्रथा रोक्नका लागि महिला विकास मञ्च बाजुराले खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँबस्तीमा सामाजिक रूपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महिला विकास मञ्च बाजुराका सामाजिक परिचालक देव सेरालाले बताउनुभयो । कार्यक्रम सञ्चालन गर्दै आएपछि अहिले यहाँका पुराना पुस्ताले पनि जातीय विभेद गर्न छोडेका छन् । जसका कारण पछिल्लो समय समाजमा हुने गरेको जातीय विभेदमा पनि न्यूनीकरण हुँदै गएको सेरालाले बताउनुभयो । बाजुराका अन्य स्थानीय तहमा सबैभन्दा बढी यहाँको जातीय विभेद बुढीगङ्गा नगरपालिकामै हुने गरेको छ । यहाँका विभिन्न गाउँबस्तीमा छाउप्रथासमेत कायमै छ । खप्तड छेडेदह गाउँपालिकामा पनि जातीय विभेद बढी हुने गर्छ । यिनै पालिकामा ठुला नेता र सामाजिक अभियन्ता पनि छन् ।
कसैले कुनै व्यक्तिलाई प्रथा, परम्परा, धर्म संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा जातीय तथा छुवाछुत अन्य सामाजमा विभेद गरेको मानिने र यदि यो कुरा कसैले गरेमा तीन महिनादेखि तीन वर्ष कैद र पचास हजारदेखि दुई लाख रुपियाँ जरिबाना कानुनमा उल्लेख छ ।