खाँदबारी समाचारदाता
खाँदबारी, कात्तिक २७ गते । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमाक्षेत्रमा रहेका सीमास्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा संयन्त्रको टोलीले सीमाक्षेत्रको अवलोकन गर्दै ६८, ६९ र ७० नम्बरका सीमास्तम्भहरू निरीक्षण गरेको हो । उक्त टोलीमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेललगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।
प्रमुख जिल्ला अधिकारी थपलियाका अनुसार सङ्खुवासभामा हाल २१ वटा सीमास्तम्भ रहेका छन् । उहाँले गत जेठमा आएको बाढीले भोटखोला–१ स्थित घोङ्गोप्पा र छोकाङखोलामा रहेको ७१/१ नम्बरको सीमास्तम्भ बगाएर बेपत्ता बनाएको विषयमा टोलीले समीक्षा गरेको जानकारी दिनुभयो । सो स्तम्भ हालसम्म फेला परेको छैन ।
भोटखोला गाउँपालिकाका वडा नं. १, २ र ३ को भूभाग सिधै चीनसँग जोडिएका छन् । सीमाक्षेत्रको निरीक्षणका व्रmममा टोलीले खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने विभिन्न मतदान स्थल, बोडर आउट पोस्ट (बिओपी) किमाथाङ्का र प्रहरी चौकीहरूको अवस्थासमेत अवलोकन गरेको जनाएको छ ।
निरीक्षणका क्रममा चीनतर्फका समकक्ष अधिकारीहरूसँग सीमा सुरक्षा, सीमापारि हुने आपराधिक गतिविधि नियन्त्रण, विपत् व्यवस्थापन तथा सूचना आदानप्रदानका विषयमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो ।