लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २७ गते । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन उद्देश्यका साथ सामाजिक सुरक्षा कोष, नेपालले बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा प्रणालीको आवश्यकता, यसको दिगोपनामा पर्ने प्रभाव र नेपालमा सामाजिक सुरक्षा कोषको कार्यान्वयनको अवस्था बारे विस्तृत प्रस्तुति दिनुभयो । उहाँले श्रमिकको हक र अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
उहाँका अनुसार कोषमा आवद्ध श्रमिकहरूले बेरोजगारी, मातृत्व, रोग, दुर्घटना तथा वृद्धावस्थामा विभिन्न प्रकारका सुविधा प्राप्त गर्न सक्छन् । उहाँले अनौपचारिक क्षेत्र तथा स्वरोजगार व्यक्तिहरुलाई पनि दर्ता भई कोषको सदस्य बन्न आग्रह गर्नुभयो ।
यस्तै खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेशका सचिव रंजितकुमार यादवले प्रदेश र स्थानीय तहबीच सहकार्यमा कार्यक्रम अघि बढाएमा सामाजिक सुरक्षा कोषको कार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नगरभित्रका नगरप्रहरी, दमकलका कर्मचारी र सरसफाइमा संलग्न श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का प्रतिनिधि तारा कँडेलले विश्वका विभिन्न देशहरूले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि अपनाएका अभ्यास र नेपालले अगाडि बढाइरहेको सामाजिक सुरक्षा प्रणालीबीचको तुलना प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा अझैं पनि अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहहरूलाई कोषमा समेट्न सकिएको छैन । यसरी अनौपचारिक श्रमिकहरु कोषको पहुँचभन्दा बाहीर हुँदा देशको अर्थतन्त्रमा पनि सुधार हुन नसकेको उहाँको भनाइ थियो ।
कँडेलले आइएलओका मापदण्डअनुसार प्रत्येक श्रमिकले न्यूनतम सामाजिक सुरक्षा पाउनुपर्ने उल्लेख गर्दै नेपालले त्यस दिशामा उल्लेखनीय प्रयास गरिरहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूको माध्यमबाट अनौपचारिक श्रमिकबीच सचेतना र जानकारी विस्तार गर्न सकिने र त्यसले कोषमा सहभागीता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले अनौपचारिक क्षेत्रका श्रमिकबिच सचेतना अभिवृद्धिका लागि मिडियाको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सामाजिक सुरक्षा कोषको पहुँच गाउँ–गाउँमा पुगोस् भन्ने सुझाव दिएका थिए । उहाँहरूले जनचेतना अभिवृद्धि र प्रचारप्रसारमार्फत श्रमिकहरूलाई कोषमा सहभागिता गराउन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।
सामाजिक सुरक्षा कोषका प्रदेश संयोजक, स्थानीय अधिकारी र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा श्रमिक अधिकार र सामाजिक सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका विषयमा समेत विस्तृत छलफल भएको थियो ।