• २७ कात्तिक २०८२, बिहिबार

किसानलाई धान भित्र्याउने चटारो

blog

घरदेखि टाढाको बेंसी खेतमा धान झार्दै किसानहरु । तस्बिर : सन्तोष राउत

सन्तोष राउत
सोलुखुम्बु, कात्तिक २७ गते ।
सोलुखुम्बुका ग्रामीण किसानलाई खेतमा पहेंलपुर भएर पाकेको धान काट्न र थन्क्याउन भ्याइनभ्याई भएको छ । धान भित्र्याउने समयमा पानी परेर केही दिन रोकिएको भए पनि मौसममा सुधार भएपछि जिल्लाका विभिन्न स्थानका खेतमा धान काट्न किसानहरु व्यस्त भएको पाइन्छ ।

जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसालगायतका स्थानमा धान थन्क्याउने चटारोले कृषकलाई मारामार छ । सिँचाइको सुविधा भएको रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भएको अनुमान गरिएको छ ।

नेचासल्यान–७ का कुमार बस्नेत खेतमा धान काट्न व्यस्त भएको बताउनुहुन्छ । “समयमा धान नथन्काएमा असिना आउन सक्छ र सबै वर्षदिन खाने खेती स्वाहा हुन्छ” उहाँले भन्नुभयो । यसपटक दसैँ तिहार छिटो भएकाले चाडपर्व सकिएलगत्तै खेतमा धान काट्न थाल्नु परेको उहाँको भनाइ छ ।

तिहारलगत्तै काटेको केही कृषकको धान बेमौसममा लगातार केही दिनसम्म परेको वर्षाका कारण खेतमै उम्रिएको थियो । पछिल्ला दिनमा मौसम राम्रो भएकाले कुनै समस्या नभएको स्थानीय बताउछन् ।

अर्का किसान हर्कबहादुर राउत पनि वर्षभरीका लागि खाने बाली धान भित्र्याउन खेतमा व्यस्त हुन थालेको बताउनुहुन्छ । धमाधम एकैसाथ धान पाकेकाले काम गर्ने मानिसको अभाव भएको उहाँले सुनाउनुभयो । किसानलाई धान काट्नेसँगै पराल थन्काउने, हिउँदे आलु लगाउने कामको पनि भ्याइनभ्याई छ ।

मौसम जुनसुकै बेला प्रतिकुल हुन सक्ने भएकाले असिना पानी पर्ने डरले भान भित्र्याउने समयमा किसान निकै चिन्तित हुन्छन् । पछिल्ला वर्षहरुमा चाँडो गरी धान लगाउन थालेकोले धान छिटै पाकेको पनि कृषकहरुको भनाइ छ । अलि ढिला रोपेको ठाउँमा भने धान पाकेको छैन ।

विगतका वर्षको तुलनामा समयमा पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यसर्वष धान उत्पादनमा केही बृद्धि भएको कृषकहरुको भनाइ छ । सोलुखुम्बुमा करिब एक हजार ६२५ हेक्टरमा धान खेती गर्ने गरेको तथ्याङ्क छ । जिल्लाका कृषकहरुले मोटा धानका रुपमा दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे, पोखरेलीलगायत जातका धान र मसिनो धानहरु लगाउछन् ।