• २७ कात्तिक २०८२, बिहिबार

महोत्तरीमा जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण सुरु

blog

अजय शाह 
गौशाला (महोत्तरी), कात्तिक २७ गते ।
नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया महोत्तरी जिल्लामा सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, महोत्तरीले बुधबार जारी गरेको सूचनामार्फत जिल्लाभित्र स्थायी ठेगाना भएका घाइते व्यक्तिहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालय (राहत तथा तथ्याङ्क व्यवस्थापन शाखा) बाट प्राप्त निर्देशन तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले कार्यालयमा सम्पर्क गरी परिचयपत्र प्राप्त गर्नुपर्नेछ ।”

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार परिचयपत्र वितरणका लागि पहिचान गरिएका घाइतेहरूमा अरविन्द साह (३१ वर्ष, गौशाला–९), रञ्जन कुमार यादव (२८ वर्ष, महोत्तरी), सञ्जय श्रेष्ठ (२९ वर्ष, महोत्तरी), रामबाबु सिंह (५८ वर्ष, महोत्तरी), प्रदीप सिंह (२९ वर्ष, बर्दिबास), सर्वेश यादव (२२ वर्ष, बर्दिबास) र अरुण साह (३१ वर्ष, महोत्तरी) रहेका छन् ।

उनीहरू आन्दोलनका क्रममा घाइते भएपछि नेशनल ट्रमा सेन्टर, सिभिल सर्विस अस्पताल, किर्तिपुर अस्पताल र रामेछाप अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र सम्पर्क गरी परिचयपत्र ग्रहण गर्न आग्रह गर्दै भनेको छ, “परिचयपत्र वितरण कार्य नेपाल सरकारको राहत कार्यक्रमसँग सम्बन्धित भएकाले समय मै सम्पर्क नगरिएमा प्रक्रिया ढिलो हुन सक्नेछ ।”

जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको भिडन्तमा धेरैजना घाइते भएका थिए । ती घाइतेहरूको पहिचान, उपचार खर्च व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित गर्न नेपाल सरकारले परिचयपत्र वितरण प्रक्रिया अघि बढाएको हो ।