जीवछ यादव
लहान, कात्तिक २७ गते । धनगडीमाई नगरपालिका वडा नम्बर १४ उत्तरी भेगमा पर्ने अम्बासका महिला समूह अर्गानिक तरकारी खेतीमा जुटेका छन् । दलित जनकल्याण युवा क्लव लहानले एक्सनएडको सहयोगमा बनाएका चार समूहका सय जना महिला तरकारी खेती गर्न जुटेका हुन् ।
तरकारी खेतीका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तरकारी उत्पादनका लागि बीउ र बजार व्यवस्थापनका लागि सहयोग गरेपछि विकट गाउँको रुपमा रहेको अम्बासका स्थानीयहरु तरकारी खेतीबाटै आत्मनिर्भर हुन थालेको हरियाली कृषक समूहका अध्यक्ष हेमकुमारी गिरीले बताउनुभयो ।
उहाँका अनुसार यस भेगका किसानहरु धान, मकै र पशु पालन गरेर जिविकोपार्जन गर्दै आइरहेका थिए । दलित जन कल्याणबाट बनाएका चार समूहका महिलाहरु अहिले आफ्नै पशुका गोब्बरबाट प्राङ्गिक मल र निम खुर्सानी मिलाएर बनाएका विषदी प्रयोग गरेर बोरी परवल, गोलभेडा कोभी आलु, लसुन र च्याउ उत्पादन गरेपछि हरेक समूहका महिलाहरुको दिनचर्या बदलिन थालेका छन् ।
उहाँले भन्नुभयो, ‘‘दुई कठ्ठामा गरेको परवल खेतीबाट वैशाखदेखि कातिकसम्म दुई लाख आम्दानी गरेका छौं । चारवटै समूहका महिलाहरु पनि यसरी नै विभिन्न किसिमका तरकारी फलाएर जिविकोपार्जन र आम्दानी गरिरहेका छन् ।’’
अम्बाससम्म मदनभण्डारी सडक निर्माण भएकाले तरकारी बजारसम्म पुर्याउन समस्या नरहेका र अर्गानिक विधिबाट गरिएको तरकारीको माग पनि बढि रहेकाले महिला समूहहरु तरकारी खेतीका लागि हौसिएको अवस्था रहेको दलित जनकल्याणका सहजकर्ता प्रेम रामले बताउनुभयो ।
धनगडीमाई नगरपालिकाको दुर्गम मानिएको यस भेगमा दलित जनकल्याण युवा क्लवले अर्गानिक तरकारी खेतीका लागि महिला समूहहरुलाई जोडिएपछि अर्गानिक तरकारी उत्पादन गर्न आवश्यक प्राविधिक तालिम र सिँचाइका लागि धनगडीमाई नगरपालिकाको परिषदबाट समेत पारित गरेर अर्गानिक तरकारी खेती र विषदीमुक्त वडा घोषणा गर्न गृहकार्यमा रहेको वडाध्यक्ष अमित ठकुरीले बताउनुभयो ।