सुधा देव
भारदह(सप्तरी),कात्तिक २७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरू भएको हैजा अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जना हैजा सङ्क्रमितको उपचार भइरहेको छ भने झाडापखालाका पाँच जना बिरामीको होम आइसोलेसनमा उपचार भइरहेको छिन्ननमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘२४ घण्टा भित्र सात जना बिरामी भेटिएको छ । उनीहरूको उपचार भइरहेको छ । हैजा सङ्क्रमित तथा झाडापखालाबाट प्रभावित अहिलेसम्म ७७ जना बिरामीको उपचार भएर निको भइसकेको छ ।’’
पहिले तीनवटा मात्र चापाकल भएको मुसहर बस्तीमा बसोबास गर्ने ९० परिवारले नुहाउने, भाडा मस्काउने र लुगा धुदै आएकाले भलुवाही खोलाको पानी र पोखरीमा देखिएको हैजाको श्रोतबाट बस्तीमा हैजा फैलिएरको थियो । यसक्रममा स्थानीय बुधन सदाका ८ वर्षीया छोरी राघिनी, चार वर्षीय छोरा संजिव तथा ६५ वर्षीय बुबा लक्षमण सदा गरी एकै परिवारका तीन जनाको मृत्युु भएको थियोे ।
बस्तीमा हैजा फैलिएपछि स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी सात वटा पानीको परीक्षण गराउँदा भलुवाही खोला र पोखरीको पानीमा हैजाको जिवाणु भेटिएको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष बिद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पहिलेको तुलनामा हैजा र झाडापखाला न्यूनीकरण भएको छ । स्वास्थ्यकर्मीहरू बस्तीको घरघर पुगेर निरन्तर उपचार तथा झाडापखाला र हैजाबाट जोगिनका लागि निरन्तर जनचेतना फैलाई रहेका छन् ।’’
वडाका विद्यालयका विद्यार्थी, समुदायमा सरसफाइको महत्त्व, हैजा सर्ने कारण र बच्ने उपाय लगायतको विषयमा निरन्तर रूपमा जानकारी गराइरहेको र सरसफाइमा समेत विभिन्न संघसंंस्थाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
हैजाले बिकराल रूप लिएपछि तत्कालका लागि घेरवार गरी दिसापिसाब गर्नका लागि अस्थायी शौचालयको व्यवस्था मिलाए पनि उक्त बस्तिको ९० परिवार अहिले पनि दीर्घकालीन शौचालयबाट बञ्चित रहेको स्थानीयको भनाइ छ ।