• २७ कात्तिक २०८२, बिहिबार

आचार्यको कवितासङ्ग्रह प्रकाशित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २७ गते । कवि अनाम आचार्य पद्य र गद्य मिश्रित कविता तथा केही गीत समेटिएको कवितासङ्ग्रह ‘नयाँ आकृतिको खोजीमा’ प्रकाशित भएको छ । उक्त कवितासङ्ग्रहमा विभिन्‍न समयमा रचिएका पाँच दर्जन कविता तथा गीत समावेश छन् । तीन खण्डमा रहेको सङ्ग्रहको पहिलो खण्डमा पद्यमा रचित ५२ कविता, दोस्रो खण्डमा गद्यमा लेखिएका छ कविता र तेस्रो खण्डमा पाँच गीत रहेका छन् । 

सङ्ग्रहमा विभिन्‍न व्यक्ति र विषयवस्तुउपर मूलतः कविको निजी दृष्टिकोण र विचार भए पनि तिनमा सामाजिक साहित्यिक, सार्थकता रहेको छ । कविले सम्भव भएसम्म आफ्ना कवितामा छन्दको नियमको परिपालना गर्नुका साथै उपमा, बिम्ब र प्रतीकको प्रयोगलाई पनि यथाशक्य प्रयोग गर्नुभएको छ । झन्डै एक दर्जन जति शास्त्रीय छन्द (वृत्त) मा रचित विभिन्‍न शीर्षकका कविता, केही गद्य कविता तथा केही गीतसमेत सङ्ग्रहमा समेटिएका छन् । सङग्रहले सङ्क्षेपमा धेरै कुरा बताउन खोजेको छ । भोक, रोग, अन्याय, समुन्‍नत र सुशासनयुक्त नेपाल बनाउनका लागि नयाँ सोच, भावना, ऊर्जा र शक्ति मात्र नभएर नयाँ पात्र, प्रवृत्ति र दृष्टिकोण नै आवश्यक रहेको सङ्ग्रहले दर्साउँछ । काव्यले जेनजी आन्दोलनले उठाएका धेरै जस्तो विषयलाई विभिन्‍न विम्ब र प्रतीकको माध्यमबाट काव्यात्मक अभिव्यक्ति दिन खोजेको छ । 

सङ्ग्रहभित्र समेटिएका कतिपय कविता प्रकृतिको वर्णनमा केन्द्रित छन् । कतिपय धार्मिक–सांस्कृतिक चाडपर्व तथा कविता मूर्धन्य साहित्यकार, समाजसेवी व्यक्तिको संस्मरणमा लेखिएका छन् । कविताले वर्तमानको बेथितिलाई काव्यात्मक पारामा बोलेको छ र सुनौलो भविष्यको सपनालाई सुन्दर ढङ्गले बुन्‍न खोजेको छ । २०२ पृष्ठ रहेको कवितासङ्ग्रहलाई कञ्चन आचार्यले प्रकाशनमा ल्याउनुभएको हो । कविको यसअघि ‘सपनामा बल्झिएको देश’ प्रकाशित भएको थियो ।