• २७ कात्तिक २०८२, बिहिबार

ढलेको धान काट्न नसक्दा किसान चिन्तित

blog

मोरङ समाचारदाता

विराटनगर, कात्तिक २७ गते । कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षा र हावाहुरीका कारण खेतमा ढलेको धान समयमा काट्न गर्न नसक्दा किसान चिन्तित छन् । खेतमा ढलेको धान समयमा उठाउन नपाउँदा किसान चिन्तित बनेका हुन् । १० कट्ठा खेतमा लगाएको पाक्न लागेको धानबाली खेतमै ढलेको र अहिलेसम्म काट्ने मेसिन नपाउँदा धान खेतमै झर्न थालेको मोरङको पथरीशनिश्चरे–५ का मीनबहादुर थापा बताउनुहुन्छ । 

त्यस्तै अवस्था मोरङको सुनबर्सी–१ का टीकाराम रायमाझीको पनि रहेको छ । उहाँको पनि झन्डै दुई बिघा खेतमा लगाइएको पाक्न लागेको धान खेतमै ढलेको छ । ढलेको धान काट्ने मेसिन नआउँदा धान खेतमै सड्न थालेको रायमाझी बताउनुहुन्छ ।  

कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले कोशी प्रदेशमा कुल धान बाली लगाइएको क्षेत्रमध्ये एक हजार ६३२ हेक्टर क्षेत्रको धान बालीमा क्षति पुगेको छ । जसबाट ५६ हजार २६७ मेट्रिक टन धानमा क्षति पुगेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस वर्ष कोशी प्रदेशमा दुई लाख ६८ हजार ७६५ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको  थियो ।