गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २७ गते । ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ पूर्वाधार निर्माणमा विनियोजन सुरु गरिएको छ । ‘जेनजी’ समूहको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना भएको थियो । कोषमा हालसम्म सात करोड ५२ लाख रुपियाँ जम्मा भएको छ । गत सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माण व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समिति बैठकले बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । कोषको बैठकले जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालु गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको हो । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न देशभरिका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न साढे तीन करोड रुपियाँ विनियोजन गरिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि क्रमशः दुई करोड र एक करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ । त्यस्तै सोही विभागबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालु गराउन दुई करोड रुपियाँ विनियोजन गरिएको छ ।
त्यसै गरी सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा सुरु गर्न एक करोड रुपियाँ विनियोजन गरिएको छ । विभागमार्फत आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा सञ्चालन गर्न ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।