चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २६ गते। ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकला र होमस्टे (घरबास) सम्बन्धी तालिम प्रदान गरिएको छ। पर्यटन प्रवर्धन र स्थानीयको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले संरक्षण क्षेत्रका बासिन्दालाई तालिम प्रदान गरिएको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकलासम्बन्धी र आधारभूत होमस्टे व्यवस्थापन तालिम प्रदान गरिएको हो। जिल्लास्थित समृद्ध पहाडकी कार्यक्रम संयोजक चित्राकुमारी चङ्सु लिम्बूका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा दुई वटै तालिम सञ्चालन गरिएको छ।
कञ्चनजङ्घा पदमार्ग क्षेत्रका बासिन्दालाई लक्षित गरी होमस्टे र हस्तकलासम्बन्धी तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक लिम्बूले बताउनुभयो। उहाँका अनुसार स्थानीय २० जनालाई होमस्टेसम्बन्धी तालिम प्रदान गरिएको छ। तालिममा होमस्टे सञ्चालन गर्दा पाहुना तथा पर्यटकलाई गर्ने स्वागत र सम्मानसहित व्यवहार, अर्गानिक खानाका परिकारमा जोड दिने लगायतका गतिविधिबारे शिक्षा सिकाइएको छ।
त्यस्तै स्थानीय कच्चा पदार्थको प्रयोग गरेर हस्तकलासम्बन्धी सामग्रीहरु निर्माण गर्नेगरी २० जनालाई तालिम प्रदान गरिएको समृद्ध पहाडकी कार्यक्रम संयोजक लिम्बूले जानकारी दिनु्भयो। उहाँका अनुसार तालिममा मकैको खोस्टा, अलैँचीको सरा (डाँठ) लगायतका कच्चा पदार्थको प्रयोग गरी म्याट्रेस, पुष्प गुच्छा, सिलाम साक्माजस्ता सामग्री निर्माण गर्ने सीप तथा शिक्षा सिकाइएको छ।
समृद्ध पहाडका परियोजना अधिकृत चन्द्रजङ्ग हमालका अनुसार नेपाल पर्यटन बोर्ड र युनडिपीको लगानी तथा समृद्ध पहाड परियोजनाको सह–लगानीमा ‘दिगो पर्यटन परियाेजना’अन्तर्गत उक्त तालिमहरु सञ्चालन गरिएको हो। पर्यटन प्रवर्धनसँगै स्थानीय बासिन्दाको आयआर्जन वृद्धि गर्न साथै उनीहरुलाई कञ्चनजङ्घा क्षेत्रको संरक्षणमा जोड्नेसमेत उद्देश्य राखेर हस्तकला र होमस्टेसम्बन्धी तालिम प्रदान गरिएको परियोजना अधिकृत हमालले बताउनुभयो।
उहाँका अनुसार यसअघि साना होटल तथा लज व्यवसायीलाई पनि होटल व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ। संरक्षण क्षेत्रका बासिन्दालाई प्रदान गरिएको विभिन्न तालिमले उनीहरुको आयआर्जन वृद्धि गर्न र आत्मनिर्भर बन्नमा सहयोग पुग्ने साथै कञ्चनजङ्घा क्षेत्रको संरक्षणमा टेवा पुग्ने अपेक्षा राखिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूको भनाइ छ।