धनगढी समाचारदाता
धनगढी, कात्तिक २६ गते । जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक हलको रङरोगन, सरसफाइ, तार जडानलगायतका कार्य अगाडि बढाइ रहेको सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सभा भवनको माथिको सिलिङ भने सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले मर्मत गर्ने भएको छ । जेनजी आन्दोलनकारीको आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएको थियो । यद्यपि बैठक हलभित्र रोस्टम, केही कुर्सी र टेबल जोगिएको छ । अपुग कुर्सी, टेबलको व्यवस्था गरिसकेको सचिव बोगटीले जानकारी दिनुभयो । यसै गरी प्रदेश सभा बैठकको अडियोभिडियो लाइभका लागि दातृ निकाय युएनडिपी र युएनएफपिएले प्राविधिक सामग्री सहयोग गरिरहेका छन् । करिब ४३ लाख रुपियाँको अडियोभिडियो लाइभ प्राविधिक सामग्री सहयोग गरिने जनाइएको छ ।
सहरी विकासले प्राविधिक सामग्रीबाहेक प्रदेश सभा भवनको मर्मतमा २९ लाख रुपियाँ लाग्ने ठहर गरेको छ तर मर्मतमा यति रकम खर्च गर्न टेन्डर प्रक्रियामा जानुपर्ने र यसले अझ ढिलो हुने भएकाले कोटेसनमार्फत मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल मर्मत गर्न धेरै बजेट खर्च गर्न नमिलेकाले कोटेसनमार्फत मर्मतको काम अगाडि बढाएको सचिव बोगटीको भनाइ छ । यसैबिच मर्मतको काम कात्तिक महिनाभित्र सम्पन्न नहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । मर्मतपछि मात्रै प्रदेश सभा बैठक सञ्चालन हुने छ ।