काठमाडौँ, कात्तिक २६ गते । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।
‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ । निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो ।
सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ । रासस