- सरकारको एक्लो प्रयासले मात्र चुनाव सम्पन्न गर्न सहज हुँदैन । सबै दल जनतालाई शान्ति सुरक्षाको आश्वस्त पार्नु पर्छ ।
- चुनावमा सामाजिक सञ्जालको प्रयोग र आचारसंहितामा पनि ध्यान दिनु जरुरी छ ।
- आसन्न चुनावले मात्र देशमा शान्ति सुव्यवस्था, दिगो विकास र समृद्धि ल्याउन सक्छ भन्ने आमनेपालीको धारणा छ ।
लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने मुख्य माध्यम नै निर्वाचन हो । निर्वाचन लोकतन्त्रको एक मात्र आधार हो । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धिलाई साकार पार्न आगामी फागुन २१ गते आमनिर्वाचन हुँदै छ । आगामी निर्वाचनले जेनजी अर्थात् नवपुस्ताले उठाएको सुशासन, बेथितिको अन्त्य, स्वदेशमै रोजगारी सिर्जना, शैक्षिक सुधार, दिगो आर्थिक विकास, सामाजिक न्यायको आकाङ्क्षाको पूरा गर्ने आशाले आउने चुनाव महìवपूर्ण हुने छ । यस निर्वाचनले जनतालाई आफ्नो योग्य उम्मेदवार छनोट गर्ने सुअवसर पाउने छ । यसले आफ्नो अधिकारको पनि सुनिश्चित गर्ने छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने अन्तरिम सरकारको मूल दायित्व छ । प्रतिनिधि सभाको निर्वाचनपछि निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पिएर लोकतान्त्रिक सरकार गठन गर्न सफल हुने छ । यसका लागि जेनजी समूह, राजनीतिक दल र नागरिक समाज नै बढ्दो सक्रियताका साथ लाग्नु पर्छ । समय छोटो छ चुनाव सफलतामा नै अर्जुनदृष्टि राखि अगाडि बढ्नु जरुरी छ । देशलाई निकास दिने एक मात्र आधार नै निर्वाचन हो । स्थायी सरकार आएपछि विधिको शासन चलाउन सजिलो हुने छ । सुशासन कायम हुने छ । जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न देशमा शान्ति र सुशासनको लोकतान्त्रिक बाटोमा लैजानु हो भने सर्वोत्तम मार्ग चुनाव एक मात्र विकल्प हो । स्थायी सरकारको अभावमा देशमा राजनीतिक अस्थिरता र अनिश्चितताको कारणले समयमै स्वतन्त्र र निष्पक्ष चुनाव हुनु पर्छ । निर्वाचनको सफलता भनेको राजनीतिक दल, नागरिक समाज र युवापुस्तासँगको सहकार्य र समन्वय गर्र्र्दै अगाडि बढ्नु हो । राजनीतिक दलहरूले निर्वाचनमा भाग लिने सम्बन्धमा स्पष्ट प्रतिबद्धता जाहेर गर्नु पर्छ । नेपालको सार्वभौमसत्ताको रक्षार्थ छिट्टै चुनावमा सहभागी हुनु पर्छ । निर्वाचनबाट पछि हट्न परेको खण्डमा देश अध्याँरोमा ढकेल्ने सम्भावना हुन्छ । शान्ति बिथोल्न सक्छ । नागरिकले ठुलो दुःख र सकस पाउन सक्छन् । निर्वाचनमा जानु नै वर्तमान सङ्कटपूर्ण अवस्थाको संवैधानिक निकासको बाटो पहिल्याउनु हो ।
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण चुनाव सम्पन्न गर्न सक्नु नै निर्वाचनको सफलता हो । यसका लागि चुनावसम्बन्धी नियम कानुनको अत्यन्त जरुरी छ । निर्वाचनमा धाँधली, अनियमितता, अत्यधिक दबाब डर धम्की, पैसाको प्रयोग नभएको हुनु पर्छ । सहज, शान्तिपूर्ण सुरक्षित वातावरणमा निर्वाचन हुनु पर्छ । निर्वाचन प्रतिस्पर्धात्मक हुनु पर्छ । निष्पक्ष निर्वाचनका लागि राजनीतिक दल र जेनजी समूहबिच सौहार्द वातावरण हुनु पर्छ ।
संविधानले १८ वर्ष पुगेका सबै नागरिकलाई मताधिकार दिएको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार २०८१ चैत ३१ सम्म एक करोड ८१ लाख ४८ हजार ६५४ मतदाता छन् । जुन अघिल्लो प्रतिनिधि सभाको निर्वाचनभन्दा एक लाख ६० हजार ५० मतदाता बढी छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । यसपालि अधिकांश जिल्लामा २५ वर्षमुनिका युवापुस्ताले मतदान गर्नका लागि नाम दर्तामा अभिरुचि देखाएका छन् । मतदाताले राष्ट्रका हित भावना राखेर मतदानमा भाग लिनु जरुरी छ । आगामी चुनावमा योग्य उम्मेदवार निर्वाचित गर्न सक्नु पर्छ । नेपाली पहिलेभन्दा निकै सचेत छन् । युवाको जाँगरिलो प्रयासले नै जेनजी आन्दोलन हुन गयो । त्यसैले यो मौका अब छाड्न हुन्न । यस्तो विषम परिस्थितिबाट ल्याएको क्रान्तिलाई आत्मसात् गर्न योग्य तथा सक्षम उम्मेदवारलाई मतदान गरी आफ्नो मतको सदुपयोग भएको हुनु पर्छ । कुनै लोभ लालाच, डर धम्की, प्रलोभनमा नफसी राष्ट्रको स्वाभिमानलाई ठेस नपुग्ने गरी प्रतिनिधि सभाका लागि सही उम्मेदवार विजयी हुनु पर्छ ।
निर्वाचन आयोगले आचारसंहिता पालनाका लागि व्यवस्था गर्न जरुरी छ । निर्वाचन आयोगले घोषित आचारसंहिताको पालना गर्न सरकार, नेता र दलहरूको ठुलो दायित्व छ । चुनावमा गडबडी गर्ने, धाँधली भएको अवस्था गल्तीलाई दण्डको व्यवस्था निर्वाचन आयोगले गर्नु पर्छ । निर्वाचनमा दलीय सहभागिता आवश्यक हुन्छ । बहुदलीय व्यवस्था भएकाले नेपालमा राजनीतिक दल धेरै छन् । दलीय नेतृत्वमा नयाँ युवापुस्ता नेतृत्व स्थापित हुन सकेमा नवपुस्ताले खोजेको चाहना तथा परिस्थितिलाई समाल्ने छन् । यदि पुनः उही टाठाबाठा नेताहरू मात्र चुनावमा जितेर आएमा सही नेतृत्व हुन सक्ने अवस्था छैन ।
निर्वाचन निष्पक्ष भयरहित रूपमा सम्पन्न गर्न सुरक्षाको प्रत्याभूति हुनु पर्छ । निर्वाचनमा सबैले आआफ्नो जिम्मेवारी वहन हुन पर्छ । सुरक्षाकर्मीर्को आफ्नै जिम्मेवारी छ भने सरोकारवाला सबैले चुनावी वातावरण बनाउनु पर्छ । निर्वाचनका लागि शान्तिसुरक्षा भनेको निर्वाचन केन्द्र, मतदान स्थल, मतपत्रको ढुवानी, राजनीतिक दलका चुनाव गतिविधि, उम्मेदवार तथा मतदाताको उचित सुरक्षा व्यवस्था, मतदानमा खटिने कर्मचारी, पर्यवेक्षक, सञ्चारकर्मी तथा सबै सरोकारवाला निकायको सुरक्षाव्यवस्था हुनु हो । निर्वाचन क्षेत्रको सुरक्षा स्थान अनुसार संवेदनशीलतालाई ध्यान दिई सुरक्षा व्यवस्था मिलाउनु पर्छ । गत २०७९ सालको निर्वाचनको अवस्था र अहिलेको निर्वाचन सुरक्षामा धेरै अन्तर छ । यसपालि जेनजीले निम्त्याएको परिस्थिति भिन्न छ । जेनजी आन्दोलनले गर्दा सबैको मनमा त्रास छ । जेनजी आन्दोलनमा सुरक्षा निकायको हातहतियार लुटिएको तथा कारागारबाट थुप्रै कैदी भाग्नुको कारण चुनावमा सुरक्षामा चुनौती आउला कि भन्ने आमजनताका लागि चासोको विषय भएको छ । यसैले शान्तिसुरक्षाका लागि आचारसंहिताको पालनामा कडाइ गर्नु पर्छ ।
हाल निर्वाचन सहभागिता हुने अवस्थामा शान्तिसुरक्षाको प्रत्याभूति सन्दर्भमा निर्वाचन आयोगले सुरक्षाको वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चार वटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन हुने भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग यसमा सहभागी हुने छन् । मतदाता, उम्मेदवार, मतदान स्थल, निर्वाचन कर्मचारी र आमनागरिकको सुरक्षा हुने छ भन्ने आश्वासन सरकारले दिएको छ । यद्यपि सरकारको एक्लो प्रयासले मात्र चुनाव सम्पन्न गर्न सहज हुँदैन । सबै दल जनतालाई शान्ति सुरक्षाको आश्वस्त पार्नु पर्छ ।
चुनावमा सामाजिक सञ्जालको प्रयोग र आचारसंहितामा पनि ध्यान दिनु जरुरी छ । निर्वाचनको बेला सामाजिक सञ्जाल प्रवाहबाट हुने गलत सूचना सामग्रीले मतदातामा भ्रम सिर्जना गर्न सक्छ । यसैले सञ्चार समूहले आधिकारिक सूचना प्रदान गर्ने, उम्मेदवारको चारित्रिक हत्या हुने खालको काममा सञ्चार माध्यमले आपराधिक काम हुनु हुँदैन । निर्वाचन प्रक्रियाको मर्यादा र निर्वाचन व्यवस्थापनको विश्वसनीयतामाथि जोखिम सिर्जना गर्ने काम हुनु हुँदैन ।
आसन्न चुनावले मात्र देशमा शान्ति सुव्यवस्था, दिगो विकास र समृद्धि ल्याउन सक्छ भन्ने आमनेपालीको धारणा छ । अधिकांश मतदाताले प्रतिनिधि सभा चुनावका लागि उत्साह देखाएका छन् । आगामी निर्वाचनका लागि आवश्यक वातावरण मिलाउन वर्तमान सरकार, निर्वाचन आयोग र विभिन्न पक्षबिच संवाद तथा वार्तालाप तीव्र रूपमा हुँदै छ । यसबाट निर्वाचनको व्यवस्थापनमा निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाएर निर्वाचन गराउनेतर्फ सफल हुने छन् ।