गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २६ गते । साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । सो कार्यक्रम अन्तर्गत ब्यान्डले कात्तिक २८ गते ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिने छ । स्थापनाको ३२ वर्षमा कन्दरा दोस्रो पटक काठमाडौँमा गुन्जिन लागेको हो । विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो ।
ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठले पत्रकार सम्मेलनमा ब्यान्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिम अन्तर्गत यो कन्सर्ट हुन लागेको बताउनुभयो । उहाँका अनुसार उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको छ । गायक श्रेष्ठले अबको एक महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुलुकमा ‘रिदम अफ चेन्ज’ टुर हुने जानकारी दिनुभयो । उहाँका अनुसार ब्यान्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टुरको तयारी गरेको छ । एक्सओ क्लबमा हुने कन्सर्टमा ब्यान्डले आफ्ना हिट गीत गुन्जाउने छ । त्यससँगै बिचमा ‘रिदम अफ चेन्ज’ को सन्देश पनि सुनाइने छ । ब्यान्डले यो कन्सर्टलाई युवा पुस्तासँग जोडिने अवसरका रूपमा लिएको छ ।
ब्यान्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनील थापा, मादलमा अविनाश गायक, बासिस्टमा पङ्कज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा रहनुभएको छ ।