गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २६ गते । साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ । संस्कृतमा आचार्य, राजनीतिशास्त्रमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि गरेका डा. भट्टराई भाषा–साहित्य एवं सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ ।
साझा प्रकाशनका पूर्वमहाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत रहिसक्नुभएका भट्टराईका नेपाली भाषाको अध्ययन–अनुसन्धान, अनुवाद, सम्पादन र पत्रकारिताका साथै कथा, उपन्यास, नियात्रा, जीवनी, निबन्ध, कविता–काव्य र समालोचना गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
भट्टराईले २०२५ सालदेखि अनवरत भाषा–साहित्यको सेवामा समर्पित भई महत्वपूर्ण योगदान गरेबापत साहित्य सदन नेपालले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । साहित्य सदन नेपालका अध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।