• २५ कात्तिक २०८२, मङ्गलबार

कञ्चनपुरको पालिकामा एमालेको जनप्रदर्शन

blog

बेदकोट नगरपालिकास्थित दैजिमा आयोजित जनप्रदर्शन कार्यक्रम । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, कात्तिक २५ गते । नेकपा (एमाले) ले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नारासाथ मंगलबार बिहानदेखि साँझसम्म जिल्लास्थित पालिकाका विभिन्न स्थानमा जनप्रदर्शन गरिएको नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले बताउनुभयो । 

एमाले बेदकोट नगर कमिटीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपा (एमाले) का केन्द्रीय समिति सदस्य कृपाराम रानाले संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण देशमा अराजकता मच्चाउने कार्य भएको, नेपालको ऐतिहासिक धरोहर सिंहदरबार जलाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो । 

जनप्रदर्शनलाई संवोधन गर्दे नेकपा एमाले बेदकोट नगरकमिटी अध्यक्ष हरि गिरीले जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति जलाउने, निजी सम्पत्ति जलाउनेहरूमाथि कडा कारबाही गरिनुपर्ने माग राख्नुभयो ।  

पालिकाहरूमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन पछि जनप्रदर्शन कोणसभामा परिणत भएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले सरकारले राम्रा काम गर्न खोज्दा खोज्दै पनि आक्रमण गरिएको बताउनुभयो । 

नेकपा एमाले कञ्चनपुरको यसअघि पार्टी कार्यालयमा बसेको बैठकले कार्तिक २५ गते जनप्रदर्शन गर्ने, २९ गते सदरमुकाममा प्रदर्शन गर्ने, पार्टी कार्यालयमा भएको तोडफोड र आगजनी गर्नेमाथि किटानी जाहेरी दिने लगायतका निर्णय गरेको थियो ।