• २५ कात्तिक २०८२, मङ्गलबार

घोडाघोडीमा लवाङ्गी पूजा महोत्सव हुने

blog

हरेक वर्ष विवाह पञ्चमीका दिन लवाङ्गी पूजा हुने थारू समुदायको देवथलको रूपमा रहेको घोडाघोडी मन्दिर । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक २५ गते । हरेक वर्ष सीता विवाह पञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ । 

पश्चिम तराईका थारू समुदायको सबैभन्दा ठुलो देउथल घोरीघोरा मन्दिरमा हुने लवाङ्गी पूजाका अवसरमा तीन दिनसम्म थारू सांस्कृतिक महोत्सवसमेत हुने भएको छ । घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको हो । 

कार्यक्रमलाई भव्यरूपमा सपन्न गर्न १७ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । समितीका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले थारू समुदायले पराम्परागत रूपमा मान्दैआएको लवाङ्गी पूजामा सबै जना सहभागी हुने भएकाले पूजा व्यवस्थापनका लागि तयारीमा जुटेको बताउनुभयो । 

उहाँले थारू समुदायको परम्परागत मौलिक संस्कृतीसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि सांस्कृतिक महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “धेरै वर्षदेखि हामीले पर्यटकीय तथा धार्मिक क्षेत्र घोडाघोडीमा लवाङ्गी पूजा भव्यरूपमा गर्दैआएका छौँ । यस वर्ष पनि पूजालाई व्यवस्थित बनाउन मुलसमिति बनाएर तयारीमा जुटेका छौ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ जिल्लाबाट समेत लवाङ्गी पूजामा सहभागिता रहन्छ ।”

संयोजक चौधरीले यस पर्वले थारू समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

महोत्सवमा थारू समुदायको झाँकी, बर्कानाच, सखिया नाच, मुङ्ग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तुति तथा थारु कलाकारको विशेष प्रस्तुति रहनुका साथै थारू समुदायको परम्परागत खानाका परिकारको प्रचार–प्रसारका साथै बजारीकरण गरिने छ । 

सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीले पूजा कार्यक्रममा कैलालीका एक सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिता हुने उल्लेख गर्नुभयो । 

थारू समुदायले पराम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याइपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य कप्तान चौधरीले जानकारी दिनुभयो  । 

घर–घर, गाउँ समाजमा व्यक्तिगत तथा सामूहिकरूपमा गरिने यस पूजा पछिल्लो दुई दशक यता घोडाघोडी मन्दिरमा भव्य रूपमा सांस्कृतिक महोत्सवको आयोजना गरी मनाउन थालिएको छ । थारू समुदायको संस्कृतिसँग जोडिएको लवाङ्गी पूजा कैलालीको घोडाघोडी मन्दिरमा भने थारू पहाडी दुवै समुदायले पूजा आजा गर्ने गर्दछन् ।

पश्चिम नेपालका थारू समुदायको ठुलो देवथलको रूपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साईडमा सूचिकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारू र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुने गरेको स्थानीय बताउँछन् । भाकल गरेकाहरूले लवाङ्गी पूजाकै दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलन रहेको स्थानीय यमलाल सापकोटाले बताउनुभयो ।