• २५ कात्तिक २०८२, मङ्गलबार

मालपोत प्रमुख अधिकारी निलम्बनपछि सेवा प्रभावित

blog

जिल्ला मालपोत कार्यालय लमजुङ । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, कात्तिक २५ गते ।
मालपोत कार्यालय लमजुङका प्रमुख रामचन्द्र अधिकारी निलम्बनमा परेसँगै कार्यालयले दिने सेवाका कामहरू प्रभावित भएका छन् । मालपोतका प्रमुख रामचन्द्र अधिकारी पोखराको बुहचर्चित लिचिबारी जग्गाको नामसारी सम्बन्धमा उहाँको समेत नाम जोडेर विशेष अदालतमा मुद्दा दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अधिकारीलाई गत असोज २२ गतेदेखि लागू हुने गरी निलम्बनमा परेको पत्र मालपोत कार्यालय लमजुङमा पठाएसँगै उहाँ कार्यालय आउनुभएको छैन । अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा ५३ लाख रुपियाँको विगो दावी गरिएको छ ।

सो मुद्दामा पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्वभूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई समेत प्रतिवादी बनाइएको छ । तत्कालीन मन्त्रीद्वयलाई क्रमशः बिचौलिया र मध्यस्थकर्ताका रुपमा परिभाषित गरिएको छ ।

अधिकारी निलम्बनमा परेसँगै मालपोत कार्यालय लमजुङमा सेवाग्राहीको अधिकृतका हैसियतले गर्नु पर्ने दस्तखत गर्ने अधिकार प्राप्त व्यक्ति नभएर सेवाका काम रोकिएको सेवाग्राहीले बताएका छन् ।

सो कार्यालयका अर्का अधिकृत ईश्वरकमल श्रेष्ठ पनि दसैँपछि बिदा लिएर विदेश भ्रमणमा गएकाले विचको समयमा काम प्रभावित भएको नायब सुब्बा रेशमबहादुर रिमालले बताउनुभयो । उहाँका अनुसार नयाँ कार्यालय प्रमुख कहिले आउने भन्ने अझै एकिन हुन सकेको छ्रन् । कार्यालय प्रमुख नहुँदा नामसारी र मुद्दासम्बन्धि काम रोकिएको छ ।