लीलाराज खड्का
बिर्तामोड, कात्तिक २५ गते । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब ८ः३० बजे कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प४२१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई–३ सरस्वती टोल निवासी ३४ वर्षीय दीपक सिटौला गम्भीर घाइते हुनुभएको थियो ।
टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको बताएका थिए ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा प्रहरी टोली खटिएर दुबै मोटरसाइकल, प्रदेश १ —०१५प ४२१० नम्बरका मोटरसाइकल चालक कनकाई ६ बस्ने २३ वर्षीय नितेश बस्नेत र बाह्रदशी ७ सुन्दर टोल बस्ने २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक ढुङ्गानाले जानकारी दिनुभयो ।