अनिल पराजुली
हेटौँडा, कात्तिक २५ गते । बालबालिकामा व्याधि प्रतिरोधक क्षमताको वृद्धि गरी सर्ने तथा नसर्ने विभिन्न रोगहरूबाट जोगाउन हेटौँडामा ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन गरिएको छ । हेटौँडास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले मङ्गलबार बिहान पुष्य नक्षत्रको दिन पारेर एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन गरेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णय अनुसार बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका २०८२ अनुसार कार्यक्रम राखिएको निमित्त कार्यालय प्रमुख अशोककुमार झाले जानकारी दिनुभयो ।
स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रूपमा सेवन गराइने विधि रहेको कार्यक्रम संयोजक प्रेमशङ्कर प्रसादले जानकारी दिनुभयो । पौराणिक कालदेखि पूर्वीय दर्शनमा संस्कारका रूपमा रहेको र आयुर्वेदका विभिन्न संहिताहरूमा उल्लेख भएको स्वर्ण प्राशनबाट बालबालिकामा व्याधि प्रतिरोधक क्षमताको वृद्धि गरी सर्ने तथा नसर्ने विभिन्न रोगहरूबाट जोगाउन यो कार्यक्रम राखिएको उहाँले बताउनुभयो । बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ । ब्राह्मी एउटा जडीबुटी रहेको र जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । पहिलो दिनका लागि ६ सय डोज औषधी तयार गरिएको उहाँले जानकारी दिनुभयो ।
बालबालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्नाका साथै बुद्धिको विकास, स्मरण शक्ति बढाउँछ । बालबालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बल र आयु बढाउँछ । समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनमा स्वर्णबिन्दु प्राशन महत्त्वपूर्ण मानिन्छ । कार्यक्रम संयोजक प्रसादका अनुसार स्वर्णबिन्दु प्राशन महिनामा एक पटक खाली पेटमा दिनुपर्छ । यो ३० मात्रासम्म खान राम्रो मानिन्छ । यो सामान्यतया छ महिनादेखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई ख्वाउने गरिन्छ । “नियमित लगाउनुपर्ने अन्य खोपहरू लगाइरहे जस्तै स्वर्णबिन्दु प्राशन पनि नियमित खुवाउनुपर्दछ, एक पटक मात्रै खुवाएर हुँदैन”, उहाँले भन्नुभयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाको प्रमुख आतिथ्य एवम् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा सङ्घीय सशर्त कार्यक्रमअन्तर्गत ‘स्वर्णबिन्दु प्राशन’ को सुरुवात गरिएको थियो ।