• ७ जेठ २०८१, सोमबार

ट्रेजरी बिलमा दोहोरो अङ्कको ब्याजदर

blog

काठमाडौँ, असार २१ गते । झन्डै २५ वर्षपछि नेपाल राष्ट्र बैङ्कले जारी गरेको ट्रेजरी बिलमा दोहोरो अङ्कले ब्याजदर निर्धारण भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत नेपाल राष्ट्र बैङ्कले सोमबार बिक्री गरेको ट्रेजरी बिलमा २८ दिन अवधिको १०.३४ प्रतिशत, ९१ दिन अवधिको ११.०६ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरीको १०.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको १०.४७ प्रतिशत ब्याजदर रहेको हो ।

बजारमा तरलता व्यवस्थापनमा चुनौती रहँदा एक वर्षअघि ३ प्रतिशत आसपास रहेको ट्रेजरी बिलको ब्याजदर अहिले दोहोरो अङ्कमा पुगेको छ । २४ वर्षअघि ट्रेजरी बिलको ब्याजदर १२ प्रतिशत रहेको स्मरण गर्दै बैङ्कर अनलराज भट्टराईले तरलता अभावका कारण आन्तरिक ऋणको ब्याजदर बढ्ने र निजी क्षेत्रमा जाने कर्जाको ब्याजदर पनि बढी हुने बताउनुभयो । ट्रेजरी बिलको ब्याजदर बढेसँगै कर्जाको माग घट्ने, आयात घट्दा भुक्तान सन्तुलन सकारात्मक हुने उहाँको भनाइ छ । 

उपभोग्य वस्तुको मूल्य दुई गुणासम्म बढेको अहिलेको अवस्थामा उपभोक्तालाई खर्च घटाउन र निक्षेपमा आकर्षण बढाउन अहिलेको ट्रेजरी बिलको भूमिका रहने उहाँले बताउनुभयो ।बजारमा लगानीयोग्य रकमको अभाव देखिएसँगै मौद्रिक व्यवस्थापनमा चाप परेका कारण तरलता अभावमा राष्ट्र बैङ्कले विभिन्न औजारमार्फत यसको व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको छ ।राष्ट्र बैङ्कले १८ अर्ब एक करोड ६५ लाख ५० हजारको ट्रेजरी बिल बिक्री गरेको हो । राष्ट्र बैङ्कले अघिल्लो पटक जारी गरेको ट्रेजरी बिलमा न्यूनतम ७.८४ प्रतिशतदेखि अधिकतम ११.४२ सम्म बोलकबोल भएको थियो । 

राष्ट्र बैङ्कका अनुुसार ९१ दिन र ३६४ दिन अवधिका २८ दिन अवधिको ट्रेजरी बिल जारी गर्नेछ । बैङ्कले ९१ दिन अवधिको नौ अर्ब १० करोड र ३६४ दिन अवधिको आठ अर्ब ९१ करोड ६५ लाख ५० हजार गरी कुल १८ अर्ब एक करोड ६५ लाख ५० हजार रुपियाँको ट्रेजरी बिल सोमबार बोलकबोल गरेको हो । 

राष्ट्र बैङ्कका अनुसार ९१ दिने ट्रेजरी आगामी असोज १८ गते र ३६४ दिने ट्रेजरी २०८० असार १९ मा परिपक्व हुनेछ । यसअघि असार १३ मा राष्ट्र बैङ्कले २६ अर्ब १० करोडको टे«जरी बिल बिक्री गरेको थियो ।केन्द्रीय बैङ्कले ओभरनाइट रिपो, बोलकबोल रिपो तथा स्थायी तरलता सुविधा (एसएलएफ)जस्ता मौद्रिक औजारमार्फत बजारमा तरलताको व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क, अन्य वित्तीय संस्था, गैरबैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैङ्कले मङ्गलबार ट्रेजरी बिल जारी गर्दै छ ।पाँच अर्ब रुपियाँको विकास ऋणपत्र सरकारलाई आवश्यक रकम उठाउन राष्ट्र बैङ्कले पाँच अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको पाँच अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०७५ ‘च’ बिक्री गर्न लागेको हो ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने राष्ट्र बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् ।

प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड रुपियाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् ७५ करोड छुट्याइएको छ ।विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ ।

Author

भेषराज बेल्बासे