बोमलाल गिरी
नवलपुर, कात्तिक २२ गते । नवलपुरको देवचुली नगरपालिकाका भूमिहीन सुकुम्वासीहरूले पालिका भित्र रहेका पाँच वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् । आफूहरूले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेर लालपूर्जा नपाएको भन्दै उनीहरूले वनमा ताला लगाएका हुन् ।
स्थानीयले सामुदायिक वन नै खारेजीको माग गर्दै वनका कार्यालयमा तालाबन्दी गरेको स्थानीय चित्रबहादुर लुङ्गेली मगरले बताउनुभयो । उनीहरूले देवचुली नगरपालिका भित्र रहेको अमर ज्योति सामुदायिक वन, धुसेरी सामुदायिक वन, चौतारी सामुदायिक वन, बरटाँडी सामुदायिक वन र अम्मर सामुदायिक वनमा तालाबन्दी गरेका हुन् ।
सुकुम्वासी सङ्घर्ष समितिका सल्लाहकार संयोजक भीमचन्द्र गुरुङ, उपाध्यक्ष दीपक विक, उपाध्यक्ष तिलवीर सारु मगर, सचिव आशिष तामाङ लगायतको नेतृत्वमा रहेको टोलीले सामुदायिक वनमा तालाबन्दी गरेको हो । देवचुली नगरपालिका भित्र वन नजिकै रहेका बासिन्दाहरूले सामुदायिक वनको अवरोधका कारण जग्गाधनी लालपूर्जा पाउन नसकेको बताएका छन् ।
देवचुली नगर उपप्रमुख पार्वता तिवारीले सामुदायिक वनले वन दर्ता गर्दा बस्ती बसेको गाउँलाई पनि सामुदायिक वन भित्र राखेका कारण यस्तो समस्या आएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले सबै प्रक्रिया पूरा गरेको तर वनका कारण जग्गा धनी लालपूर्जा वितरण कार्य रोकिएको छ ।
यहाँका पाँच सयभन्दा बढि भूमिहिन सुकुम्वासीको बस्ती सामुदायिक वन भित्र परेको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले वन ऐनका कारण जङ्गल छेउ बस्ती रहेका सुकुम्वासी बस्तीमा लालपूर्जा वितरण गर्न नसकिएको बताउनुभयो ।