• २२ कात्तिक २०८२, शनिबार

स्वस्थ दुध उत्पादनका लागि ६६ हजार चौपायालाई खोप लगाइँदै

blog

फिदिम २ को गाई गोठमा खोरेतविरुद्धको खोप लगाउँदै प्राविधिक । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 
फिदिम, कात्तिक २२ गते ।
पाँचथर जिल्लामा ६६ हजार पशु चौपायालाई खोरेत रोगविरुद्धको सुई लगाइने भएको छ । विशेषतः दुध उत्पादनका लागि पालिएका गाई भैँसी र चौंरीलाई खोप लगाइने भएको हो ।

स्वस्थ दुध उत्पादनसँगै दुग्धजन्य वस्तुको निर्यात बढाउन यस्तो अभियान चलाउन लागिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।

पहिलो चरणमा दुधका स्रोत गाई भैँसी र चौंरीलाई खोप लगाइने छ । खोप लगाएका गाई भैँसीका दुध खोरेतका जिवाणु रहित हुने भएकाले तिनको दुध घिउ र छुर्पी पनि स्वस्थ हुने पशु प्राविधिकहरू बताउछन् ।

जसका लागि तीन तहका सरकारले सहकार्य गर्दै एक महिनासम्म खोप अभियान चलाउने लागिएको विज्ञ केन्द्रको तयारी छ । कार्यालयका अनुसार अभियान कात्तिक २३देखि मङ्सिर २३ सम्म सञ्चालन हुने भएको हो ।

भेटेरिनरी कार्यालयले खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित सबै पालिकाका पशु सेवा शाखा र सरोकारवालाहरूको उपस्थितिमा तयारी बैठक सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लाको एक नगर र ७ गाउँपालिका गरी आठवटै स्थानीय तहका ६६ हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने र त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका निकायले समन्वय र सहकार्य गर्ने छन् ।

अभियानका लागि आवश्यक भ्याक्सिन सङ्घीय सरकारले उपलव्ध गराउने भएको छ भने प्रदेश सरकारले आर्थिक व्यवस्थापन गरेको छ ।

जस अनुसार नगरपालिकालाई पाँच लाख र गाउँपालिकाहरूलाई एक लाख २५ हजारका दरले रकम उपलव्ध भएको बताइएको छ ।

सरकारले गाई भैँसी र चौरीको दुधबाट उत्पादन भएका घीउ, छुर्पी र चीज जस्ता बस्तुको निर्यात बढाउन यस्तो अभियान थालेको हो ।

खोरेत रोग लागेका जनावनरको दुधबाट उत्पादन भएका दुग्धजन्य वस्तु गुणस्तरीय नहुने भएकाले निर्यात बजार प्रभावित हुने भएकाले स्वस्थ उत्पादनमा जोड दिन अभियान चलाइने भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका सूचना अधिकारी निरजकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले इलामलाई दुग्धजन्य पदार्थ उत्पादनका लागि पकेट क्षेत्रका रूप स्थापित गरेको छ । सोहि अनुसार छिमेकी जिल्ला पाँचथरमा पनि खोरेतविरुद्धको खोप अभियान सुरु गरेको हो ।

भेटेनरी कार्यालयले यसअघि जिल्लामा खोरेत रोगको अवस्था कस्तो छ भनेर गाई भैँसीको रगतको नमुना लिएर परीक्षण गरेको थियो । गाई भैँसी र चौंरी गरी ६० वटा जनावरको नमुना परीक्षण गर्दा चार वटामा खोरेतका जिवाणु भेटिएको कार्यालयले जनाएको छ । पाँचथरमा गत वर्ष पहिलो चरणमा ७८ हजार पशु चौपायालाई खोरेत रोगविरुद्धको खोप दिइएको थियो ।