गुणबहादुर रोका
सुलीकोट, कात्तिक २२ गते । गोरखामा केहि दिन अघि परेको बेमौसमी वर्षाले किसानको मेहेनत र पसिनामा ठुलो क्षति पु–याएको छ । धान भित्र्याउने समयमा लगातर परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ११ पालिकामध्ये १० बटा पालिकाका चारहजार हेक्टरमा खेतमा लगाइएको धानबाली नष्ट हुँदा गोरखाका धान किसानको तीन करोड ५० लाख रुपियाँको क्षति पु–याएको हो ।
जिल्लाको सबैभन्दा बढि गोरखा नगरपालिकाअन्तर्गत दरौदी फाँटमा धान खेतीमा क्षति पु–याउदा किसानले लगाएको हजारौँ रोपनी क्षेत्रफलमा लगाएको धानबाली नष्ट हुदाँ किसान स्तब्ध भएका छन् भने करोडौं बराबरको अन्नबाली पानीमा डुबान परेर क्षति भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका र भिमसेन थापा गाउँपालिका खेतहरुमा धान काट्ने कोही तयारीमा रहेका बेला र कोही धान काटेर धानको पाँजा सुकाइरहेका बेला मुसलधारे वर्षा हुँदा खेतमै धानको बाला झरेर थन्काउन मौका नपाउँदा कृषकहरुको एक वर्षाको परिश्रम बेमौसमी वर्षाले ध्वस्त पारेको कृषि ज्ञानकेन्द्र गोरखाका अर्थविज्ञ सुमन भट्टराईको भनाइ छ ।
गोरखामा दस हजार एक सय ४० हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये ३० प्रतिशतभन्दा बढिमा क्षति पुगेको स्थानीय तहहरुले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गोरखामा खेतमा मात्रै होइन, भण्डारण गरिएको धानमा पनि पसेर अन्न कुहिने अवस्था सृजना भएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले किसानको क्षति मूल्याङ्कन गरी राहतको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन् भने किसानहरु भने सरकारले तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन् ।
किसानले लगाएको धान खेती वर्षभरिको पसिना एक रातको पानीले बगायो, गोरखा नगरपालिका – १० कृषक कमला थापा मगरले भन्नुभयो, ‘‘कृषक थापाले आक्रोश व्यक्त गर्दै यदि सरकारले तुरुन्त ध्यान नदिए, गोरखाका हरेक किसानको खेती लगाउने हिम्मत हराउने छ ।’’
गोरखाका किसानहरु अहिले खेतको पानी घटाउने र बच्न सक्ने धान बचाउन व्यस्त छन् । तर वर्षाले क्षति पु–याएपछि चिसो र उम्रेको धान पनि थन्काउन किसानहरु लागिपरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बेमौसमी वर्षाले चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकामा किसानले लगाएको धानबाली सबैभन्दा बढि क्षति पु–याएकाले किसानहरुले मौसमसँग जुध्नका लागि किसानमैत्री नितिहरु आवश्यक रहेको बताएका छन् ।