• २२ कात्तिक २०८२, शनिबार

गुल्मीको रुरु गाउँपालिकामा सबैभन्दा बढिले गरे स्वास्थ्य बिमा

blog

रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य बिमा संयोजन समिति बैठक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक २२ गते ।
गुल्मीका दुई नगरपालिका र दस गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरैले स्वास्थ्य बिमा गरेका छन् । दुई हजार ७३३ परिवारका सात हजार २९९ महिला र छ हजार ८६८ पुरुष गरेर १४ हजार १६७ जना बिमित रहेका छन् । स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय तम्घासका अनुसार पूरा शुल्क लाग्ने साधरण दुई हजार ५१४ परिवारका ११ हजार ७०० बिमित रहेका छन् ।

५० प्रतिशत छुट पाएका महिला स्वास्थ्य स्वयसेविका ८० परिवारका ३९४, ज्येष्ठ नागरिक एक हजार ४२९, ‘क’वर्गका अपाङ्ग ११८ परिवारका ५६८, एच.आइ.भी सङ्क्रमित २० परिवारका ७४, कुष्ठरोगी एक परिवारका पाँच बिमित रहेका छन् । रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले स्वास्थ्य बिमा दर्ता अभियानमा सक्रिय सहभागिता जनाउने सबै सहयोगीहरुलाई आभार प्रकट गर्नुभयो ।

यस आर्थिक वर्षमा ९० प्रतिशत बिमित पु¥याउने साझा लक्ष्यमा साथ जनताबाट आएका समस्या र गुनासाहरु समयमै सम्बोधन गर्ने र आगामी दिनमा गुनासाहरु नै नआउने गरेर कार्यक्षमता अभिवृद्धि गर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले विपन्न तथा असहाय नागरिकहरुलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाइएको जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म ५१.६५ प्रतिशत अर्थात ६५ हजार ६६६ महिला र ६१ हजार ६८९ पुरुष गरेर एक लाख २७ हजार ३५५ बिमित रहेका छन् । रेसुङ्गा नगरपालिकामा २४ हजार ५४१, मुसिकोट नगरपालिकामा सात हजार ८४१, चन्द्रकोट गाउँपालिकामा छ हजार ४००, धुर्कोट गाउँपालिकामा १० हजार ३०५ बिमित रहेका छन् ।

त्यस्तै, छत्रकोट गाउँपालिकामा १२ हजार २६३, गुल्मीदरवारमा १० हजार २१०, इस्मामा सात हजार ३५०, कालिगण्डकीमा छ हजार ७०३, मदानेमा तीन हजार ६७६, मालिकामा आठ हजार १९९ र सत्यवति गाउँपालिकामा १५ हजार ७८२ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर साधारण २१ हजार ३३ परिवारका एक लाख ५२४ र महिला स्वास्थ्य स्वय सेविकाको ८८३ परिवारका चार हजार ६०२ जना बिमित रहेका छन् । जिल्लामा तीन जना दर्ता अधिकारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।