नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २० गते । बागलुङमा निर्वाचनको तयारी अनुसार मतदाता नामावली सङ्कलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ ।
कार्यालयले मतदाता नामावाली सङ्कलन, ठाउँसारी र त्रुटी सञ्चाउने कार्य कार्यालयबाट दैनिक रूपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार असोज नौ गतेपछि अनलाइन र कार्यालय दुबै स्थानबाट ठाउँसारी र त्रुटी सञ्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।
निर्वाचनको मिति घोषणा भएको असोजको नौ गतेपछि अहिलेसम्म बागलुङ जिल्लामा ३९३ मतदाता नामावली सङ्कलन गरिएको १९८ जनाको ठाउँसारी गरिएको र ३० जनाको त्रुटी सच्चाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्त सम्म मतदाता नामावली सङ्कलन र अध्यावधिकको काम गर्नु भनी आएको परिपत्र अनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता र अध्यावधिकको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख तथा निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले नयाँ नामावली दर्ता, ठाउँसारी र त्रुटी सच्चाउने काम जिल्ला निर्वाचन कार्याय बागलुङबाट भइरहेको बताउनुभयो ।
उहाँले नेपालका जुनसुकै निर्वाचन कार्यालयबाट नामवली सङ्कलनको काम समेत गर्न सकिने बताउँदै बागलुङ जिल्ला ठेगाना भएकाले यही निर्वाचन कार्यालय आउनुपर्छ भन्ने नरहेको बताउनुभयो।
ठाउँसारीका लागि भने बसाइसराइ दर्ता प्रमाण पत्र अथवा विवाह दर्ताको प्रमाण अनिवार्य रहेको बताउनुभयो । यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचन स्थल लगायतको त्रुटी समेत सञ्चाउने कार्य भइरहेको बताउनुभयो ।
नयाँ नामावली दर्ताका लागि अनलाइन फारम भरेर जैविक विवरण बुझाउन भने कार्यालयमै आउनुपर्ने रिजालको भनाइ छ । निर्वाचनको मिति घोषणा भएको असोजको नौ गतेपछि अहिलेसम्म बागलुङ जिल्लामा ३९३ मतदाता नामवली सङ्कलन गरिएको १९८ जनाको ठाउँसारी गरिएको र ३० जनाको त्रुटी सच्चाइएको उहाँको भनाइ छ । अहिले जिल्लाको इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट नामावली दर्ता तथा अध्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कात्तिक ३० गते सम्म नयाँ मतदाता नामावली दर्ता र ठाउँ सारी गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
पालिका र इलाकामा नामावली दर्ताको संभावना हाललाई नभएको आयोगको भनाई छ । जनशक्ति, बजेट तथा निर्वाचन तालिका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलनको व्यवस्था मिलाइएको छ । बागलुङमा पछिल्लो अध्यावधिक मतदाता नामावली अनुसार एक लाख ७९ हजार १७३ मतदाता रहेका छन् । जसमध्ये महिला ९७ हजार ३४ जना र पुरुष ९२ हजार १३९ जना रहेका छन् ।
जिल्लामा १०६ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गते सम्म जिल्लामा मतदाताको सङ्ख्या केही मात्रमा बढ्ने देखिएको छ । मतदानस्थलको समीक्षा र ठाउँसारीको विषयमा समेत आयोगले काम सुरु गर्न थालेको छ ।