• २० कात्तिक २०८२, बिहिबार

वर माग्न भक्तजनको भिड

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक २० गते । पाल्पाको तिनाउ–४, सत्यवतीमा चिच्याएर वर माग्ने मेलामा भक्तजनको भिड लागेको छ । तीन दिनअघि सुरु भएको वर माग्ने मेलामा बुधबार बिहानैदेखि अत्यधिक भक्तजन सहभागी भएका थिए ।

पाल्पासहित छिमेकी जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, स्याङ्जा, अर्घाखाँची र भारतबाट समेत भक्तजन मेलामा आएका थिए । सत्यवती मन्दिरमा कार्तिक पूर्णिमाको अवसर पारी हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गरेको छ । यो वर्ष मेलाको जोक परेकाले मेलामा भक्तजन अत्यधिक आएका हुन् । चार दिनको अवधिमा तीन लाख बढी भक्तजनले मन्दिरमा आई दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । 

परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलका बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती तालनजिकै पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ ।