भैरहवा समाचारदाता
भैरहवा, कात्तिक २० गते । किसानको पौरखमा औद्योगिक श्रम जोडिएर बनेको उत्पादन अमेरिकी बजारको खाजा बन्न पुगेको छ । देशभरका ३५ हजार किसानको परिश्रमको फललाई रुपन्देहीको शुद्धोधनमा रहेको फस्ट च्वाइस फुड्स प्रालिले ‘किसानको पौरख हाम्रो गौरब’ नारासहित नेपाली खाजा अमेरिका पठाएको छ । उक्त कम्पनीले किसानको उत्पादनमा प्रशोधन गरेर मूल्य अभिवृद्धि गरी फ्रेन्च फ्राइज पहिलो पटक अमेरिकी बजारमा पठाएको हो । किसानको परिश्रमको फल भए पनि उत्पादन फल नभएर कन्दमूल आलु हो ।
फस्ट च्वाइस फुड्सले नेपाली आलुबाट उत्पादन गरेको ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज मङ्गलबारदेखि अमेरिकी बजारतर्फ पठाएको हो । उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार पहिलो चरणमा ४२ मेट्रिक टन फ्रेन्च फ्राइज अमेरिका पठाइएको हो ।
उक्त सामान बोकेका कन्टेनर भैरहवा भन्सार कार्यालयबाट कोलकाता बन्दरगाह हुँदै अमेरिका गइसकेका छन् । कोलकाताबाट पठाइएपछि करिब ५० दिनमा अमेरिकी बजारमा ती फ्राइज पुग्ने पौडेलले जानकारी दिनुभयो ।
यस काममा उद्योगले ३५ हजारभन्दा बढी किसानलाई उत्पादन शृङ्खलामा जोडेको छ र वार्षिक करिब ४० हजार मेट्रिक टन आलु प्रयोग गर्छ । हाल उद्योगले कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोकसहित २६ जिल्लाका किसानबाट खेतमै गएर आलु खरिद गर्छ । गत वर्ष मात्रै किसानबाट दुई हजार मेट्रिक टनभन्दा बढी आलु खरिद गरिएको थियो । यस वर्ष १५ हजार मेट्रिक टन खरिद गरिएको छ । सञ्चालक पौडेलले कैलालीको घोडाघोडीबाट सबैभन्दा धेरै आलु उद्योगमा भित्रिएको बताउनुभयो ।
उहाँका अनुसार तत्कालका लागि हरेक साता अमेरिका निर्यात गरिने छ र छिट्टै बेलायतमा पनि निर्यात सुरु गर्ने तयारी छ । साथै दुबई, मलेसिया र साउदी अरबलगायतका मुलुकमा पनि फ्रेन्च फ्राइज निर्यात गर्ने योजना छ । सञ्चालक पौडेलले अमेरिकामा निर्यात गर्नुअघि उत्पादनको गुणस्तर परीक्षण गरिएको र सबै सूचक उत्कृष्ट देखिएपछि निर्यात गरिएको बताउनुभयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले फ्रेन्च फ्राइजको विदेश निर्यात नेपालका लागि सुखद सुरुवात भएको उल्लेख गर्दै यसबाट करिब ४० हजार अमेरिकी डलर आम्दानी हुने जानकारी दिनुभयो ।
फस्ट च्वाइस फुड्सले पाँच वर्षअघि शुद्धोधनमा उत्पादन सुरु गरेको हो । गत असार ५ गते औपचारिक रूपमा ‘फस्ट च्वाइस’ ब्रान्डका उत्पादन सार्वजनिक गरिएको थियो ।
नेपालमा अहिलेसम्म प्रायः फ्रेन्च फ्राइज विदेशबाट आयात हुँदै आएको भए पनि उक्त उद्योगले छोटो समयमा नै ७५ प्रतिशत नेपाली बजारमा आफ्नो उत्पादन पु¥याएको जनाइएको छ । दुई अर्ब रुपियाँको लगानीमा स्थापना गरिएको उद्योगमा अत्याधुनिक युरोपियन प्रविधियुक्त मेसिन जडान गरिएको छ, जसले एक घण्टामा दुई टनसम्म फ्रेन्च फ्राइज उत्पादन गर्न सक्छ ।
हाल फस्ट च्वाइस फुड्सका उत्पादन काठमाडौँ, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगन्जलगायतका सहरमा पाँच वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, चार सयभन्दा बढी रेस्टुरेन्ट र १७१ मोडर्न मार्टमार्फत उपभोक्तासम्म पुगेका छन् ।
कम्पनीले फ्रेन्च फ्राइजसँगै क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, स्मोकी बाइट्स, आलु टिक्का, भेग स्टिक, पोटेटो वेजेस र भेग बर्गर प्याटी जस्ता उत्पादन पनि बजारमा उपलब्ध गराउँदै आएको छ ।