गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २० गते । नेपाल र भारतबिच विद्युत् आदानप्रदानमा बनिसकेका प्रसारण लाइनको क्षमता विस्तार र प्रस्तावित प्रसारण लाइन निर्माण गर्न नेपाल–भारत प्राविधिक टोलीबिच सहमति भएको छ ।
नेपाल र भारतबिच ऊर्जा क्षेत्रको प्राविधिक सहकार्य सुदृढीकरण गर्ने उद्देश्यले गठित संयुक्त प्राविधिक टोलीको १७ औँ बैठकले यस्तो सहमति गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकले प्रमुख अन्तरदेशीय प्रसारण पूर्वाधार ढल्केबर–मुजफ्फरपुर तथा ढल्केबर–सीतामढी प्रसारण लाइनमार्फत विद्युत् आदानप्रदान क्षमता बढाउने सहमति गरेको छ ।
विगतमा एक हजार एक सय मेगावाट क्षमता उपयोग हुने गरेकामा पुनर्मूल्याङ्कन अनुसार नेपालले ढल्केबरबाट अब भारतलाई एक हजार पाँच सय मेगावाटसम्म विद्युत् निर्यात र भारतबाट एक हजार चार सय मेगावाटसम्म आयात गर्न सक्ने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर भगवान् सहाय बैरवाको सहअध्यक्षतामा मङ्गलबार पोखरामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइन आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी कार्यअगाडि बढाउने पनि निर्णय गरेको छ ।
त्यस्तै नयाँ बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको छ । निजगढ–मोतीहारी चार सय केभी डबल सर्किट लाइनको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रूपमा बनाउने पनि निर्णय भएको जनाइएको छ ।
त्यस्तै लमही–लखनउ चार सय केभी प्रसारण लाइनका लागि नेपालतर्फको अन्तिम विन्दु लमही वा कोहलपुर बनाउने निश्चित गर्न संयुक्त अध्ययन गरिने भएको छ ।