गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २० गते । जेनजी विद्रोहको संस्थागत रूपान्तरणका लागि साझा दृष्टिकोण तयार गर्नुपर्नेमा जोड दिइएको छ । जेनजी नेपालद्वारा बुधबार राजधानीमा आयोजित ‘जेनजी र बृहत् राजनीतिक संवाद, आजको सङ्कट र राजनीतिक निकास’ विषयक अन्तर्क्रियामा सहभागी जेनजी आन्दोलनका समर्थक नेताले सो कुरा बताएका हुन् ।
नेता चन्द्र भण्डारीले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको माग गर्दै विद्रोहमा उत्रँदा आफ्नो उमेर साढे १५ वर्षको रहेको र ७३ दिनसम्म जेल परेको स्मरण गर्दै देशको अवस्था आजसम्म पनि राम्रो नहुँदा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उमेर किशोर अवस्थामा प्रवेश गर्दै गर्दा पनि नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार थियो भने अहिले पनि त्यत्तिकै बदमासी छ । त्यही कारण राम्रो प्राकृतिक र जनशक्ति भएको हाम्रो देशमा पनि विकास हुन सकेन ।” उहाँले भ्रष्टाचारमा मुछिएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने, दोषीलाई कारबाहीको दायरामा ल्याएर जेनजीले उठाएका भ्रष्टाचारको अन्त्य र सुशासनको माग पूरा गर्दै नयाँ पुस्ताको सहभागिता र प्रणालीगत सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
जेनजी अगुवा अन्जु राईले देशको समृद्धिका लागि राजनीतिक स्थिरताको वातावरण बनाउनुपर्ने र युवाले खोजेको रोजगारी, राजनीतिलगायत प्रशासनिक सुशासनको माग पूरा हुनुपर्ने बताउनुभयो । अर्का अगुवा प्रकाश रावतले भ्रष्टाचारीलाई जेल हाल्न यो सरकारले आँट गर्नुपर्नेमा जोड दिनुभयो ।