सियोल, कात्तिक १८ गते । उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद’ का पूर्व प्रमुख तथा नाम मात्रको राष्ट्र प्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गर्नुभएका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको निधन बहु-अङ्ग विफलताका कारण भएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जानकारी दिएको छ । किमले सन् १९९८ देखि २०१९ सम्म सर्वोच्च जनसभा (सुप्रिम पिपुल्स एसेम्बली) को प्रेसिडियमको अध्यक्षका रूपमा कार्य गर्नु भएको थियो । उक्त पदले उहाँलाई राष्ट्रको औपचारिक प्रमुखको रूपमा प्रतीकात्मक जिम्मेवारी प्रदान गरेको थियो ।
यद्यपि, वास्तविक सत्ता र निर्णय गर्ने अधिकार तत्कालीन नेता किम जोङ इल र पछि उहाँका छोरा, हालका सर्वोच्च नेता किम जोङ उनको हातमा केन्द्रित रहेको थियो । केसिएनएका अनुसार किम जोङ उनले ‘उनको निधनप्रति गहिरो शोक व्यक्त गर्न’ व्यक्तिगत रूपमा श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । उहाँले दरबार भ्रमण गरी शोकाकुल परिवारलाई सान्त्वना दिनुभएको समाचारमा उल्लेख छ ।
एक सार्वजनिक फोटोग्राफमा किम जोङ उन वरिष्ठ अधिकारीबिच उभिनुहुँदै काँचको कफिनभित्र राखिएका किम योङ नामको पार्थिव शरीरअगाडि मौन श्रद्धा व्यक्त गरिरहेको देखिन्छ । किम योङ नामले आफ्नो कार्यकालमा उत्तर कोरियाको कूटनीतिक छवि बाह्य रूपमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
विशेष गरी सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न शीतकालीन ओलम्पिकको उदघाटन समारोहमा उहाँले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।
उक्त अवसरमा दुई कोरियाबिच दशकौँपछि भएको दुर्लभ प्रत्यक्ष सम्पर्कका रूपमा हेरिएको थियो । त्यो ऐतिहासिक कार्यक्रममा दक्षिण कोरियाली सञ्चारमाध्यमले व्यापक रूपमा रिपोर्ट गर्दै किम योङ नामले दक्षिण कोरियाली उच्च अधिकारीसँगको बैठकमा सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई अगाडिको सम्माननीय सिट प्रदान गर्नुभएको थियो उल्लेख गरेका थिए ।
यस कार्यले उहाँले सधैँ शीर्ष नेताको परिवारप्रति देखाएको निष्ठा र आदरको प्रतीकका रूपमा व्याख्या गरिएको थियो, जसका कारण उहाँ दशकौँसम्म उत्तर कोरियाको राजनीतिक संरचनामा स्थायित्वका साथ रहन सफल हुनुभयो ।
सियोलस्थित एकीकरण मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गर्दै किमको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । मन्त्री चुङ डोङ-युङले स्मरण गर्दै भन्नुभयो, “सन् २००५ र २०१८ मा प्योङयाङमा किम योङ नामसँग भएका भेटघाट कोरियाली प्रायद्वीपमा शान्ति र आपसी समझदारीको दिशामा अर्थपूर्ण संवादका उदाहरण थिए ।”
मन्त्री चुङका अनुसार सन् २०१८ को प्योङचाङ शीतकालीन ओलम्पिकको अवसरमा किमको दक्षिण भ्रमणले ‘अन्तर-कोरियाली संवाद र सम्बन्ध सुधारको ढोका खोल्न उल्लेखनीय योगदान पुर्याएको’ थियो । उत्तर कोरियाको दीर्घकालीन कूटनीतिक अनुहार मानिने किम योङ नामको निधनले देशको राजनीतिक इतिहासमा एक युगको अन्त्य भएको टिप्पणी पर्यवेक्षकले गरेका छन् । रासस/एएफपी