ग्योङ्जु (दक्षिण कोरिया), कात्तिक १५ गते । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तालाई दुई देशबिचको सम्बन्धमा ‘निर्णायक मोड’भएको बताउनुभएको छ ।
उहाँले वार्ताका क्रममा विदेशी हस्तक्षेप जस्ता संवेदनशील विषय स्पष्टरूपमा उठाएको समेत जानकारी दिनुभएको छ । क्यानाडा र चीनबिचको सम्बन्ध पछिल्ला वर्षमा पश्चिमी मुलुकमध्ये सबैभन्दा तन्किएको मानिन्छ । तर हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबिच बिहीबार भएको सहमतिपश्चात् बढ्दै गएको व्यापार तनाव केही घटेको पृष्ठभूमिमा क्यानाडा-चीन संवादले नयाँ सम्भावना देखाएको बताइन्छ ।
शुक्रबार चीन र क्यानाडाबिच सन् २०१७ पछि पहिलो पटक नेतास्तरीय औपचारिक वार्ता सम्पन्न भएको थियो । दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङ्जुमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कार्नीले भन्नुभयो, “हामीले अहिले विद्यमान विषयलाई सम्बोधन गर्दै अगाडि बढ्ने बाटो खोलेका छौँ ।” उहाँका अनुसार वार्ताको समग्र माहोल ‘रचनात्मक र व्यावहारिक’ थियो ।
प्रधानमन्त्री कार्नीले चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘नयाँ वर्षमा चीन भ्रमण गर्न’ गरेको निमन्त्रणा स्वीकार गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “मैले हाम्रा मन्त्री र अधिकारीहरूलाई हालका चुनौतीको समाधान खोज्ने र आपसी सहयोग तथा आर्थिक विकासका सम्भावित क्षेत्र पहिचान गर्न सँगै काम गर्न निर्देशन दिएको छु ।”
वार्ताको सकारात्मक सङ्केतका बाबजुद क्यानाडा-अमेरिका सम्बन्धमा भने नयाँ विवाद उत्पन्न भएको छ । गत शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाली वस्तुमा थप १० प्रतिशत कर वृद्धि गर्ने र सबै व्यापार वार्ता स्थगित गर्ने घोषणा गर्नुभएको थियो । यो निर्णय त्यही विज्ञापन अभियानपछि आएको थियो, जसलाई राष्ट्रपति ट्रम्पले ‘नक्कली करविरोधी प्रचार’ भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
उक्त विज्ञापनमा दिवङ्गत पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको चित्र प्रयोग गरिएको थियो, जसलाई ट्रम्पले ‘अनुचित र अपमानजनक’ भन्नुभएको थियो । प्रधानमन्त्री कार्नीले उक्त विवादका विषयमा प्रतिक्रिया दिँदै भन्नुभयो, “मैले राष्ट्रपति ट्रम्पसँग माफी मागेको छु । उहाँ उक्त विज्ञापनप्रति आक्रोशित हुनुभयो र मैले त्यसप्रति खेद प्रकट गरेको छु ।”
विश्लेषकका अनुसार ग्योङ्जुमा भएको क्यानडा-चीन वार्ताले दुई देशबिच लामो समयदेखि चिसिएको सम्बन्धमा नयाँ ऊर्जा भरेको छ । कार्नीको आगामी चीन भ्रमणले द्विपक्षीय व्यापार, लगानी र कूटनीतिक संवादमा नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ । रासस/एएफपी