शेरबहादुर सार्की
बाजुरा, कात्तिक १४ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –६ पाँडीबासीको घरकै आँगनमा सिँचाइ कुलो निर्माण भएपछि उनीहरुको मुहारमा खुसी छाएको छ ।
हिमाली गाउँपालिकाले यहाँका स्थानीयलाई हिउँदे खेती गहुँ तथा तरकारी सिँचाइमा सहज हुनेगरी गत वर्ष पाडीबासीको घरकै आँगनमा सिँचाइ कुलो निर्माण गरिदिएसँगै उनीहरुको मुहारमा खुसी छाएको हो ।
गाउँमा सिँचाइ नहुँदा तरकारी खेती गर्न समस्या हुनेगरेको थियो । यतिबेला पालिकाले हाम्रो यो समस्यालाई मध्यनजर गर्दै घरकै आँगनमुनि पानी आउनेगरी सिँचाइ कुलो निर्मााण गरिदिएसँगै सहज भएको हिमाली गाउँपालिका –६ पाँडीका नरजित रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो यो गाउँ अन्य गाउँभन्दा निकै दुर्गम हो । यहाँदेखि पालिकासम्म जान हिडेर एक दिन लाग्छ । गाउँमा सिँचाइ नहुँदा तरकारी खेती गर्न समेत समस्या थियो । अहिले पालिकाले यहाँ सडक र सिँचाइ कुलो पनि गाउँमै पुगाएको छ ।”
घरको आँगनमै सिँचाइ कुलो निर्माण भएसँगै अहिले यहाँका स्थानीयलाई तरकारी लगाउन सहज भएको छ । गाउँमा सडक सुचारु भएसँगै अहिले हामीले उत्पादन गरेको तरकारी बस्तु पनि यहाँदेखि बजारसम्म लग्न सहज भएको रावलले बताउनुभयो ।
पाँडीगाउँ तरकारी उत्पादनका लागि राम्रो ठाउँ हो । यहाँका स्थानीयले प्राय भेडाबाख्रा पालन गर्ने गर्छन् । उनीहरु त्यसै भेडाको गोबरबाट तरकारी उत्पादन गर्ने गर्छन् । जो अर्गानिक उत्पादन हो । त्यो स्वास्थ्यका लागि राम्रो गर्छ । त्यसैले यहाँका स्थानीयलाई तरकारी खेती गर्न सहज हुनेगरी पालिकाको आर्थिक सहयोगमा घरको आँगनमै पानी आउनेगरी सिँचाइ कुलो निर्माण गरेर पानी सञ्चालन गरिएपछि पछिल्लो समय उनीहरुको मुहारमा खुसी छाएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                