सुर्खेत समाचारदाता
सुर्खेत, कात्तिक १४ गते । गत भदौ २४ गते जेनजी समूहको आन्दोलनमा आगजनीबाट ध्वस्त गरिएको कर्णाली प्रदेश सभा भवन चालु आर्थिक वर्षको नियमित बजेटबाट पुनर्निर्माण गर्ने निर्णय भएको छ ।
कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले चालु आवको नियमित बजेटबाट पहिलो चरणमा सचिवालय र दलका पदाधिकारीहरूको कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सभामा आगजनी भएको करिब ४९ दिनपछि यस विषयमा बैठक बसेको हो ।
आन्दोलनकारीले गरेको आगजनीबाट प्रदेश सभा बैठकस्थल, सचिवालय, दलका कार्यालय, विभिन्न समितिका कार्यालय ध्वस्त भएका छन् । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा आगामी माघ २१ गते प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुनुपूर्व नै नियमित बजेटबाटै पुनर्निर्माणको काम सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा सचिवालय र प्रदेश सभामा सहभागी दलका पदाधिकारीको कार्यालय पुनर्निर्माण गर्ने सहमति भएको बताउनुभयो । काम गर्दै जाँदा बजेट अपुग भए प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसै गरी बैठकले माघ २१ गते हुने हिउँदे अधिवेशन सञ्चालनका लागि हालको प्रदेश सभा हलको विकल्पका रूपमा अन्यत्रभन्दा अहिलेकै प्रदेश सभा परिसरभित्रै अस्थायी रूपमा संरचना बनाउनुपर्ने सुझाव पनि आएको छ । वैकल्पिक स्थानमा सुरक्षा, दलका कार्यालयलगायत अन्य संरचना बनाउनुपर्ने भएकाले अहिलेकै प्रदेश सभापरिसरमा यी सबै पहिल्यै व्यवस्था भएको र बैठकस्थलका लागि मात्र व्यवस्था गर्नुपर्ने भएकाले प्रिफ्याब मोडेलको कम खर्चमा अस्थायी बैठकस्थल बनाएर आगामी हिउँदे अधिवेशन सञ्चालन गर्न सुझाव आएको प्रदेश सभा सचिवालयका सचिव बुढाथोकीले दिनुभयो ।
यस्तै बैठकले दलहरूका शीर्ष नेताहरूको उपस्थतिमा सर्वदलीय बैठक पनि बस्ने निर्णय गरेको छ । केही दिनभित्र सबै दलका शीर्ष नेताको उपस्थितिमा सर्वदलीय बैठक बसेर वैकल्पिक उपायलगायत आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिने सचिव बुढाथोकीले बताउनुभयो ।
 
                                 
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                