रलिङ समाचारदाता
रलिङ (हुम्ला), कात्तिक १४ गते । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी लाप्चास्थित नेपाली भूभागमै पछिल्लो समय चीनको गतिविधि र निगरानी बढेको पाइएको छ । नेपाली भूभागमै चिनियाँ सुरक्षाकर्मीले अनुगमन र माइकिङ गरेर आवतजावतमा अवरोध गर्न थालेको स्थानीयको गुनासो छ । नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्र (लोलुङजोङ) नेपाल र चीनबिच सीमाङ्कनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये एक हो । चिनियाँ पक्षले यो क्षेत्रलाई निषेधित भने पनि विगतदेखि नै त्यहाँ पुगेर तीर्थालुले कैलाश मानसरोवरको दूरदर्शन गर्दै आएका छन् । यही क्षेत्रमा हाल चिनियाँ पक्षको उपस्थिति बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
गत असोज ११ गते सदरमुकाम सिमकोटबाट लिमी लाप्चा हुँदै मानसरोवर–कैलाश दर्शन गर्न गएका २०÷२२ जना तीर्थयात्रीमाथि पनि सादा पोसाकका चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न नदिएको सिमकोट गाउँपालिका–१ का स्थानीय अविनाश लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नेपाली भूभागभित्र थियौँ तर चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न रोक लगायो ।” सिमकोटदेखि चार वटा बोलेरो जिपमा सवार भएर पुगेका तीर्थयात्रीलाई लिमी लाप्चानजिकै अघि बढ्न रोक लगाइएको थियो । नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर–कैलाश दूरदर्शन गर्न पुगेका सिमकोट गाउँपालिका–६ का राजु रावतले पनि चिनियाँ पक्षले अवरोध गरेको बताउनुभयो । चिनियाँ पक्षले माइकिङ गरेर लिमी फिर्ता जान भनेको गुनासो उहाँले गर्नुभयो ।
आग्रह गरेर बल्लतल्ल दुई/दुई जनाका दरले लिमी लाप्चाबाट कैलाश–मानसरोवरको दर्शन ग¥यौँ तर केही साथी त दर्शन नगरी फर्किनु परेको रावतले बताउनुभयो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले नेपाली भूमि लिमी लाप्चा दूरदर्शनमा चिनियाँ पक्षले अवरोध गरेको विषयमा गृह प्रशासन र परराष्ट्र मन्त्रालयले नै कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने बताउनुभयो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले पनि सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको भौतिक उपस्थिति देखिएको पुष्टि गर्नुभएको छ । सो क्षेत्र नेपाली भूभागमै पर्ने/नपर्ने यकिन भइनसकेको पनि उहाँले बताउनुभयो । त्यो खुला क्षेत्र हो । परम्परागत रूपमा नेपाली त्यहाँ गएर कैलाश मानसरोवरको दूरदर्शन गर्ने गरेको पाइएको छ । अहिले चिनियाँ सुरक्षाकर्मीले रोक्न खोजेपछि कुरा उठेको प्रजिअ रेग्मीले बताउनुभयो ।
प्रजिअ रेग्मीका अनुसार भारतका आध्यात्मिक गुरु तथा इसा फाउन्डेसनका प्रमुख सद्गुरु जग्गी वासुदेवसमेत मानसरोवरको दर्शनका लागि सो क्षेत्रमा पुगेपछि त्यहाँ चहलपहल बढेको हो । स्थानीयको गुनासो आएपछि दुई देशबिचको सीमारेखा स्पष्ट गर्नका लागि गृह मन्त्रालयमा जानकारी गराइएको प्रजिअ रेग्मीले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                