• १४ कात्तिक २०८२, शुक्रबार

अलैँची मनको एक लाख सात हजार

blog

इलामको बिब्ल्याँटे बजारमा निकासीका लागि सङ्कलन गरिएको अलैँची । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक १४ गते । अलैँचीको मूल्य एक लाख रुपियाँभन्दा माथि पुगेको छ । उच्च गुणस्तरको अलैँचीको मूल्य प्रतिमन एक लाख सात हजार रुपियाँ पुगेको छ । अलैँची बिक्रीको पहिलो सिजन भदौदेखि नै प्रतिमन ९० हजार रुपियाँमा खरिदबिक्री भएको अलैँचीले कात्तिकको दोस्रो साता पुग्दा उच्च मूल्य कायम गरेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो ।

“यस पटक सिजनको सुरुदेखि नै अलैँचीको मूल्य राम्रो थियो । हिजोआज प्रतिमन एक लाख सात हजार रुपियाँसम्म पुगेको छ । यस पटक किसानले प्रत्यक्ष रूपमा अलैँचीको मूल्य पाएका छन्,” अध्यक्ष पौड्यालले भन्नुभयो, “यस वर्ष भारत निकासीमा पनि कुनै समस्या छैन । किसानले स्थानीय बजारको मात्र होइन, भारतीय बजारकै मूल्य बुझेर पनि बिक्री गर्न सक्नु हुन्छ ।” 

आफ्नो खेतीयोग्य जमिन बाँझो राखेर युवा बिदेसिने चलन बढेको छ तर विदेशको कमाइभन्दा आफ्नै जग्गामा उच्च मूल्यका नगदे बाली लगाउने हो भने राम्रो आम्दानी हुन्छ भन्ने उदाहरण यस वर्ष अलैँचीले देखाएको पौड्यालको भनाइ छ । 

अलैँची धेरै उत्पादन गर्ने किसानले घरैबाट बिक्री गर्ने गरेका छन् । अलि कम उत्पादन भएका किसानले भने बजारमै लगेर बिक्री गर्ने गरेका छन् । “यस पटक सुरु सुरु भएकाले थोरै उत्पादन थियो, करिब १२–१५ किलो जति बजारमा नै ल्याएँ । अहिलेको मूल्यमा त त्यतिले पनि अलिकति आम्दानी ग¥यो,” अलैँची बिक्रीका लागि सन्दकपुर गाउँपालिकाबाट इलामको बिब्ल्याँटे बजार आइपुगेका किसान दुर्गा निरौलाले भन्नुभयो, “गाउँमा किसानलाई यो मूल्यले निकै उत्साह थपेको छ ।” मूल्य उच्च भए पनि गत असोज १८ को बाढीपहिरोले धेरै अलैँची बगानमा नोक्सान पुु¥याएको छ । 

यस वर्ष २२ मन अलैँची बेचेका इलाम सुम्बेकका किसान छवि निरौला पनि निकै खुसी हुनुहुन्छ । करिब २५ रोपनी जमिनमा अलैँची लगाएका निरौलाले यस पटकको बाढीपहिरोले आफ्नो बगानमा केही क्षति पनि गरेको बताउनुभयो । सात वर्ष वैदेशिक रोजगारीका लागि मलेसिया बसेर फर्किएका निरौलाले विदेश जान गरिने लगानी र विदेशमा काम गर्न खटिने समय आफ्नै खेतबारीमा खर्च गर्दा आम्दानी र सन्तुष्टि दुवै दोब्बर दिने बताउनुभयो । 

जिल्लामा उत्पादन गर्ने मात्र नभई अलैँचीको नयाँ बगान विस्तार गर्ने किसान पनि उत्ति नै रहेका छन् । गएको वर्षदेखि नै अलैँचीको मूल्य उच्च हुन थालेपछि यस वर्ष इलामको फाकफोकका किसान मनबहादुर थापाले करिब २० रोपनी जमिनमा अलैँचीका नयाँ बिरुवा लगाउनुभएको छ । 

यस वर्ष अलैँची निकासीको अवस्था पनि राम्रो रहेको छ । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । 

सो अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । देशका ५४ जिल्लामा खेती गरिने अलैँची इलाममा १४ हजार ३८३.५ हेक्टर जमिनमा विस्तार भएको इलामस्थित अलैँची विकास केन्द्रले जनाएको छ ।