काराकास, कात्तिक ६ गते । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूस निर्मित करिब पाँच हजार म्यान-पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी-एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताउनुभएको छ ।
उहाँका अनुसार भेनेजुएलाको हवाई सुरक्षालाई सुदृढ गर्न यी क्षेप्यास्त्र ‘शान्ति सुनिश्चित गर्नका लागि प्रमुख हवाई रक्षा स्थानमा’ तैनाथ गरिएको हो । उक्त मिसाइल प्रणालीलाई रुसमा ‘इग्ला–एस’ भनिन्छ, जसले विशेष गरी कम उड्ने विमान खसाल्न सक्ने क्षमता राख्दछ ।
अमेरिकी पक्षले भने क्यारेबियनमा गोप्यरूपमा लडाकू विमान र नौ सेनाका जहाज तैनाथ गरी त्यसलाई ‘लागु पदार्थ नियन्त्रण प्रयास’ का रूपमा व्याख्या गरेको छ । अमेरिकाले हालसम्म भेनेजुएलाबाट लागु औषध बोकेको कम्तीमा आठ वटा जहाज नष्ट गरेको दाबी गरेको छ ।
तर राष्ट्रपति मदुरोले यसलाई आफ्ना विरुद्ध वासिङ्टनले चलाइरहेको ‘सरकार परिवर्तन अभियानको अभ्यास’ का रूपमा चित्रण गर्दै ती तैनाथीको कडा निन्दा गर्नु भएको छ । वरिष्ठ सैन्य अधिकृतको उपस्थितिमा आयोजित टेलिभिजन समारोहमा उहाँले भेनेजुएलाको सार्वभौमिकताको रक्षा गर्न सेना सदैव तयार रहेको बताउनुभयो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कङ्ग्रेसलाई पठाएको प्रतिवेदनमा अमेरिकाले हाल ल्याटिन अमेरिकी लागु औषध कार्टेलसँग ‘सशस्त्र द्वन्द्व’ मा रहेको उल्लेख गरेको छ । ती समूहलाई ‘आतङ्कवादी सङ्गठन’ का रूपमा तोकिएको छ भने तस्करीमा संलग्न व्यक्तिलाई ‘गैरकानुनी लडाकू’ भनिएको छ ।
पुष्टि भएका तस्करलाई लक्षित गरे पनि संक्षिप्त हत्या अन्तर्राष्ट्रिय कानुन विपरीत मानिन्छ भन्दै विज्ञहरूले भने यस्ता कार्यहरू कानुनी दृष्टिले विवादास्पद भएको बताएका छन् । यसबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारेबियनमा गरिएको तैनाथीका कारण समुद्री तस्करीमा उल्लेखनीय कमी आएको र अब भूमिगत लागु औषध सञ्जाललाई आक्रमण गर्न अमेरिकी सेना तयार रहेको बताउनुभएको छ ।
विशेषतः कोलम्बियाले अमेरिकी कदमप्रति असन्तुष्टि जनाउँदै वासिङ्टनका लागि आफ्नो राजदूतलाई फिर्ता बोलाएपछि क्षेत्रीय तनाव झन् बढेको छ । कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रो र राष्ट्रपति ट्रम्पबिचको सम्बन्ध यस घटनापछि झन् तिक्त बनेको छ । रासस/एएफपी