दमौली (तनहुँ),कात्तिक ६ गते । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् । तर तनहुँको व्यास नगरपालिका–१०, सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाउनुभएको छ । आज उहाँहरूले शुभसाइतमा एकापसमा टीका लगाउनुभएको हो ।
सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मार्नुभयो । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उहाँले फूलको माला गलामा पहिराइदिनुभयो । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोर्नु भयो । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिनुभयो ।
विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आउनुभएको छ । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्यौं । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं ।”
मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबिच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । तिहारको मुख्य दिन भाइटीका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन् । रासस