रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ६ गते। गुल्मीमा सडक कालोपत्रे गर्न संरचना बनाउने काम धमाधम भएको छ। जिल्लाको सदरमुकाम तम्घासको बाख्रेछेडा भाडगाउँ रातडाँडा सडक कालोपत्रे गर्न धमाधम संरचना तयार भइरहेका छन्।
हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये हुने यो सडकमा स्थानीय यात्रुले सास्ती खेप्नुपरेको थियो। यस सडक खण्डमा हाल कटिङ, चौडा पार्ने काम, वाल निर्माण र ग्याबीन जाली निर्माण लगायतका काम भइरहेका छन्। आठ मिटर चौडाइ हुने यो सडक साढे ५ मिटर कालोपत्रे र ढलान हुनेछ। रेसुङ्गा नगरपालिका वडा ३, भाडगाउँ सुन्तलाको गाउँ भए पनि सडक सहज नभएको हुँदा सुन्तलाको बजार नभएको स्थानीयले बताउनुभयो।
अब पक्की सडक हुने भएपछि केही न केही फरक पर्नेछ स्थानीयहरुको भनाइ छ। गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुंगादेखि बागलुङ्गको ढोरपाटन जाने छोटो दूरीका रुपमा यो सडक रहेको छ। रेसुङ्गा र बाग्लुङको ढोरपाटन क्षेत्रलाई जोड्न सकेमा पर्यटकीय हिसाबले पनि निकै फड्को मार्ने पाइएको छ।
रेसुङ्गाबाट भाडागाउँ हुँदै रातडाँडाबाट इन्द्रेगौंडा र वामी हुँदै बाग्लुङ पुगिन्छ। यसका लागि गुल्मीको जीरो खण्डबाट सहज सडक बनेमा पर्यटकीय चहलपहल बढ्नेछ। २०८२ वैशाख १० मा सम्झौता भई भिमढुंगा रामजाने जयबाबा जेभी निर्माण कम्पनीले १७ करोड ६८ लाख ७३ हजार रुपियाँमा २०८४ साल वैशाख ९ गतेभित्र काम सम्पन्न गर्नेगरी जिम्मा लिएको छ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत यस योजनामा आठ किलोमिटर सडक कालोपत्रे हुनेछ। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धेरै मेहनतपछि मात्रै यस खण्डमा बजेट सुनिश्चत गर्न सकेको बताउनुभयो। समयमै काम सम्पन्न गरेर यसबाट स्थानीय नागरिकलाई सुविधा प्रदान गर्न निरन्तर पहल गरिरहेको उहाँले बताउनुभयो।