• १ कात्तिक २०८२, शनिबार

चिनियाँ चियाको स्वाद !

blog

विशाल चिनियाँ पर्खाल नजिकमा बाटावारि र बाटापारिका बस्तीका दृश्य भिन्न भिन्न किसिमका देखिए । सडकका एकातिरका बस्ती पुराना गाउँ जस्ता र अर्कातिरका आधुनिक सहर जस्ता । खाली ठाउँमा चाहिँ हरियाली दुवैतिर ।

पथप्रदर्शक वाङलाई सोधेँ, “किन यहीँ र त्यहीँ यस्तो भिन्नता ?” त्यो पुरानो बस्तीलाई छोडेर मानिसहरू यताको आधुनिक एवं सुविधासम्पन्न सहरिया बस्तीतिर सरे । खेतीपाती गर्न छोडेर अन्य पेसातिर लागे । सन् २०२२ को विन्टर ओलम्पिककै समयमा यहाँ बुलेट रेलमार्ग बन्यो । त्यसले यस ठाउँको परिवर्तनमा धेरै सहयोग पु‍¥यायो । वाङ बताउँदै थिए, “खाना खाने ठाउँ चाङ पिङको जिन दियान रेस्टुरेन्टमा आइपुगेछौँ । दिनको १ बजे छ ।” 

खाना खाएर हिँडेपछि विश्व जगत्मा खेलकुदका माध्यमबाट चीनको समग्र क्षमता प्रस्तुत भएको ओलम्पिक खेलकुदको आयोजना र ओलम्पिक पार्क अर्थात् ओलम्पिक ग्रिन क्षेत्रको व्याख्या गर्न थाले, वाङ । बेइजिङ नै हो संसारको एउटै मात्र सहर जहाँ ग्रीष्मकालीन (२००८) र शीतकालीन (२०२२) दुवै ओलम्पिक खेलकुदको आयोजना भएको छ । चीनले सन् २००८ को ओलम्पिकमा त सबभन्दा बढी ४८ वटा स्वर्ण पदक पनि जितेको थियो ।

ओलम्पिकबारे बताउँदाबताउँदै वाङले गाडीबाटै देखाए चीनको विशाल राष्ट्रिय टेनिस स्टेडियम । जहाँ ओलम्पिकमा टेनिसका प्रतियोगिता सम्पन्न भएका थिए । कमलको फूल जस्तो आकारको रहेछ त्यो । उनले ओलम्पिक गेट र खेलाडी बस्ने घर पनि देखाए । खेलाडी निवास चाहिँ अहिले बिक्री गरेर व्यावसायिक क्षेत्र बनाइएको छ रे । वाटर क्विब देखियो जहाँ पौडीका ओलम्पिक प्रतियोगिताहरू सम्पन्न भएका रहेछन् । अहिले त्यहाँ पर्यटकका लागि मनोरञ्जनात्मक वाटर पार्क सञ्चालित छ रे । चराको गुँड जस्तै ‘बर्ड नेस्ट’ नामले प्रसिद्ध बेइजिङ ओलम्पिक स्टेडियम देखियो, जहाँ ओलम्पिकका उद्घाटन र समापन कार्यक्रमका साथै लामो दौडका खेल आयोजना भएका रहेछन् । साह्रै ठुलो भएका कारण अहिले त्यो स्टेडियम अन्य प्रयोजनका लागि पनि खासै प्रयोग हुन सकेको रहेनछ । ओलम्पिकको अर्को आकर्षण रहेछ ओलम्पिक टावर । ओलम्पिकको लोगोलाई समेत प्रतिविम्बित गर्ने पाँच वटा स्तम्भ र पाँच वटा रिङसहित निर्मित यो टावरको उचाइ २४६.८ मिटर रहेछ । यो टावरको २२८ मिटर उचाइको बार्दलीबाट सम्पूर्ण ओलम्पिक प्रतियोगिता क्षेत्र मात्र होइन बेइजिङको सुन्दरता र सेरोफेरोका अधिकांश क्षेत्रको दृश्य अवलोकन गर्न सकिन्छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण घुमी घुमी हेर्दा के देखिन्न 

र ? आधुनिक बेइजिङ सहर, रिङरोडहरू, अग्ला अग्ला भवनहरू, टाढा टाढासम्म फैलिएको बेइजिङ ओलम्पिक हरियाली क्षेत्र र परपर उभिएका सुन्दर पर्वतहरू सबै देखिन्छन् । आहा ! लोभ लगायो वाङको व्याख्याले तर के गर्नु, प्रत्यक्ष देख्न पाइएन । 

“वाङ, तिम्रो व्याख्या सुनेर धेरै जानकारी प्राप्त त भयो तर प्रत्यक्ष देख्न र अनुभूत गर्न पाइएन । म त अघाइन वास्तवमा ।” मेरो कुरा सुनेर वाङ हाँस्न त हाँसे तर उनको अनुहारमा लज्जाबोध झल्किरहेको देखेँ, मैले ।

ओलम्पिक प्रतियोगिता आयोजनापश्चात् यो क्षेत्र एउटा महìवपूर्ण पर्यटकीय क्षेत्र बन्यो । जहाँ चिनियाँ कला, संस्कृति, प्राविधिक कुशलता, खेलकुदको सफलता र आधुनिकताका विविध स्वरूप देख्न पाइने रहेछ । वाङले दिएको जानकारीबाट मलाई लागिरहेको थियो कि, यो बेइजिङ ओलम्पिक ग्रिन पार्कले अहिले आफूलाई चीनको आधुनिकता, सांस्कृतिक प्रस्तुति, व्यवस्थापकीय कुशलताको प्रतीक र खेलकुद मनोरञ्जन एवं पर्यटकीय केन्द्रका रूपमा प्रस्तुत गरिरहेको रहेछ ।

“अब टी सेरेमोनीको अनुभव गरौँ है,” चालक च्या चिङवेले गाडी रोकेपछि हाँस्दै वाङले हामी आज अर्थात् २० जुलाई, २०२५ को यात्राको अर्को गन्तव्यमा पुगिसकेको सङ्केत गरे । 

हामी ताङ्रेन चिया आँगनमा थियौँ । चिया पसलको नाम थियो, ‘टी सेरेमोनियल सपु ।’ हामीलाई चिया तयार गर्ने कोठामा पु‍¥याएर वाङबाहिर निस्किए । एकैछिनमा एक जना चिनियाँ सुन्दरी आइन अभिवादन गर्दै । उनी रहिछिन् चिया बनाउन सिकाउने प्रशिक्षक ‘जेसिका’ । हँ जेसिका ! कसरी चिनियाँ मान्छे 

जेसिका ? हामी छक्क पर्यौं । हुन त उनी गोरो वर्णकी पश्चिमा युवती जस्तै देखिन्थिन् । वास्तवमा तिनी चिनियाँ युवती नै थिइन् । धेरैले उनलाई पश्चिमा युवती जस्तै माने छन् र नाम पनि जेसिका राख्न सुझाए छन् । उनैले भनेकी । अनि जेसिका बनिइन् रे उनी । उनको खास नाम चाहिँ बाइलिङ रहेछ । हामीले पनि आफ्नो परिचय दियौँ बाइलिङलाई ।

“आज तपाईंहरूलाई चीनमा प्रचलित पाँच प्रकारका चिया बनाएर देखाउँछु । पाँचै प्रकारका चियाको स्वाद लिनुहोला है । अवश्य सम्झना रहने छ ।”

आहा ! बाइलिङको भाषा कति मिठो !

हाम्रो अगाडि कपहरू राखेर उनी चिया बनाउन थालिन् ।

“यो जिनसिङ उलङ चिया हो । यसले मिर्गौलालाई मजबुत बनाउन र शरीर चिसो काट्न सहयोग पु¥याउँछ । शारीरिक तन्दुरुस्ती बढाउन, अनुहारको चाउरी कम गर्न राम्रो हुन्छ यो चिया । आयुर्वेदिक औषधिजन्य चियाका रूपमा पनि सेवन गरिन्छ यसलाई ।” उनले हामीलाई चिनियाँ शैलीमा चियालाई कपमा खन्याउन सिकाइन् । कप समाउन सिकाइन । हामीले उनले भने जस्तै गरी औषधिजन्य जिनसिङ उलङ चिया पियौँ । यो चिया तातोपानी थप्दै आठ/१० पटकसम्म दोहो¥याएर पनि पिउन मिल्दो रहेछ । अब अर्को किसिमको चिया बनाउने पालो आयो । बाइलिङले कुमार भाइका अगाडि तातोपानीको जग, चियाको बट्टा र चिया बनाउने भाँडो राखिदिइन् । अनि सिकाउन थालिन् कसरी जस्मिन चिया बनाउने भनेर । कुमार भाइ चमेली चिया तयार गर्न थाले । बाइलिङ भनिरहेकी थिइन्, “जस्मिन चिया पाँच छ पटकसम्म पानी थप्दै पिउन मिल्छ । चमेलीको फूलबाट बनाइने यो चिया हाम्रो कलेजो, आँखा, मस्तिष्क स्वस्थ राख्न सहयोगी हुन्छ ।” हामीले साना साना कपमा पियौँ मिठो चमेली चिया ।  

चिया तयार गर्ने पालो नवराज भाइको आयो अब । बाइलिङ सरल, शान्त र मायालु गुरुआमाले बालबालिकालाई पढाए, सिकाए झैँ हामीलाई चिया बनाउन सिकाइरहेकिछिन् । नवराज भाइ लिची ब्ल्याक चिया तयार गर्न लागे । रक्तसञ्चार, रोग प्रतिरोधात्मक क्षमता आदिमा सकारात्मक प्रभाव पार्ने रहेछ, यो चियाको सेवनले । लिचीको स्वाद र बास्ना आउने चिया पिरहँदा नवराज भाइ र बाइलिङलाई धन्यवाद त दिनै प¥यो । मेरो पालो आयो, चिया तयार पार्ने । चियाको नाम चाहिँ पुएर चिया रहेछ । चिनी रोग, कोलेस्ट्रोल, ब्लडप्रेसर, आदिलाई नियन्त्रणमा राख्न यो चियाको सेवनले ठुलो मद्दत पु‍¥याउँछ रे । पाँच/छ पटकसम्म दोहो¥याएर सेवन गर्न सकिने पुएर चिया बनाउन मलाई सिकाउँदै बाइलिङ यो चियाबारे पनि बताइरहेकिछिन् । माटोको बास्ना आउने यो चिया पिउँदा धर्तीलाई पो सम्झिँदो रहेछ । 

आहा ! कति राम्रो भन्दै हामीले चिया बनाउँदै गरेको, चिया पिउँदै गरेको फोटो, भिडियो पनि खिचिरहेकिथिन्, बाइलिङ । 

“अब फेरि मेरो पालो । केटाकेटी चिया बनाउँछु ल ! तागतिलो पनि, मिठो पनि ! यसको नाम चाहिँ फलफूल चिया हो ।” यति भनेर बाइलिङ फलफूल चिया बनाउन लागिन । प्रायः सुकाएका फलफूलबाट यो चिया बनाइँदो रहेछ । तातोपानीमा सुकेका फलफूलका टुक्रा राखेर बनाइने यस्तो चिया कहिलेकाहीँ अन्य प्रकारको चियामा ताजा फलफूलका टुक्राहरू राखेर पनि बनाइने गरिन्छ रे । फलफूलबाट प्राप्त हुने भिटामिन चियाका रूपमा केटाकेटीलाई सेवन गराउन सजिलो हुने हुनाले यसलाई केटाकेटी चिया पनि भनिँदो रहेछ । हामीले अन्तिममा बाइलिङले बनाएको मिठो फलफूल चिया पियौँ । धेरै धेरै धन्यवाद बाइलिङ ! 

बाहिर टी सेरोमोनियल सपमा बिक्रीका लागि विभिन्न प्रकारका चियाका बट्टा र प्याकेट सजाएर राखिएका थिए । पसलमा बसेका चिनियाँ युवतीहरूले चिया खरिद गर्न हामीलाई पनि अनुरोध गरे । हामीले चिया किन्ने विचार गरेका थिएनौँ । उनीहरूको आग्रह अत्यन्त विनयी थियो, प्रेमिल थियो । एउटा प्याकेट मात्रै भए पनि नकिनी हिँड्न राम्रो लागेन हामीलाई । तिनै जनाले ससाना एक एक प्याकेट जिनसिङ उलन चिया किन्यौँ ।

चिनियाँ चियाको मिठो स्वाद जिब्रोमा राखेर, बाइलिङको हार्दिक आतिथ्यलाई सम्झनामा साँचेर ‘चाइ चियानु’ (बाइबाई) भन्दै हामी ताङ्रेन चिया आँगनबाट बिदा भयौँ ।