कैयौँ पटक योजना बनाएर पनि जान नसकिएको बडीमालिका जाने मौका मिल्यो । तीर्थयात्राका लागि सधैँ समय हुँदैन । केही यात्रा पर्वमा त केही निश्चित समय मिलाएर गर्नुपर्ने हुन्छ । स्थान, समयविशेष यात्रा, तीर्थविशेषको छुट्टै समय र महत्व रहिआएको हुन्छ । कुनै ठाउँमा स्नानको महत्व हुन्छ, कतै दर्शनको । कहीँ स्नान, तर्पण, दानको । त्यस्तै पर्यटकीय महत्व बोकेका क्षेत्रको मनोरम दृश्यावलोकनको महत्व हुन्छ । दर्शन, स्नान, दान, तर्पण, दृश्यावलोकन तथा प्रकृतिको अधिकतम आनन्द लिने स्थानमध्ये एउटा स्थान हो– बडीमालिका । बाजुरा, कालीकोट, अछामको सीमा जोडिए पनि मुख्य रूपमा बाजुरा जिल्लामा अवस्थित छ ।
बडीमालिकालाई निकै ठुलो शक्तिपीठ तथा तीर्थस्थल मान्ने गरिन्छ । त्यसैमा निकै महत्वको पदयात्रा क्षेत्र पनि मानिन्छ । बडीमालिका जानका लागि उपयुक्त समय श्रावण शुक्ल चतुर्दशीलाई मानिन्छ । आषाढ शुक्ल दशमी गङ्गा दसारामा पनि दर्शन गर्न जान्छन् तर मुख्य पर्व र समय श्रावण महिना नै हो ।
मार्तडीसम्मको गाडीको यात्रालाई पार्किङ गर्दै बिहानको ७ बजे बडीमालिकाका लागि पैदलयात्रा सुरु ग¥यौँ । मार्तडीमा रहेको मालिका मन्दिरबाट देवीको पेटारो, डोला तथा अन्य सामग्री उठाउँदा महिलाद्वारा मङ्गलगान र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानबाट सलामी अर्पण गरेर देवी पूजनको सरकारी टोली सँगसँगै हामी पनि पदचाप मिलाउँदै गयौँ । विकट उकालो हिँड्दा हिँड्दा सास्ती, जस्तो सुकै विकट भए पनि बडीमालिकाको दर्शन गर्ने उत्कट चाहना बोकेर निरन्तर हिँडिरह्यौँ ।
साथीहरू रमाइला थिए । घरबाट पकाएर पठाएको सातु, घरेलु बिस्कुट, खुर्सानीको अचारसँगै काजु, बदाम, नमकिन आलोपालो बाँडिरहेका हुन्थ्यौँ । सुरु सुरुमा बोकेका पानीको बोतल प्रयोग ग¥यौँ तर त्यो सकिएपछि खोलानाला, धाराको पानी अञ्जुलीले पियौँ । पदयात्राको गन्तव्य बडीमालिका भए पनि प्रत्येक दिनको विश्राम स्थल निश्चित थिए । विभिन्न स्थानमा देवी, देवताका थान थिए । कहीँ फूल त कहीँ पाती चढाउँदै, देवीको गाथा वर्णन गर्दै यात्रा जारी राखेका थियौँ ।
पहाडको उकालो त्यसैमा लेक लागेर श्वास प्रश्वासमा प्रभाव, पिउन पानी नपाइने, खोजेको भन्दा पनि बोकेको खाजा खाना खानुपर्ने, असिनपसिन त्यसैमा निरन्तर वर्षाले निथ्रुक्क भिजाएको, हिँड्दा हिँड्दा थकानले लखतरान भएर पहिलो दिनको गन्तव्य सोता पाटनमा टेक्न पुग्यौँ । बाटोमा विभिन्न नाउँ दिएका ठाउँ थिए । विश्रामस्थल बनाइएका थिए, त्यो अभिलेखभन्दा पनि पहिलो दिनको थकान महत्वपूर्ण थियो । उकालो काटेर तेर्सो बाटो हिँडे पनि उकालोले दिएको सास्ती तेर्सोले भुलाउन सकेन । फूल चढाउनेदेखि सोता पुग्दासम्म तेर्सो नै तेर्सो थियो तर उकालोभन्दा गाह्रो भयो । निकै थाकेर पुगेका थियौँ गन्तव्यमा ।
त्रिवेणी भएर बडीमालिका जानुपर्ने परम्परा रहेको छ । जुनसुकै बाटोबाट आए पनि त्रिवेणी पुग्नैपर्ने मान्यता छ । बडीमालिका पुग्न पाँच/छ वटा बाटा प्रयोगमा छन् । बाजुरा, अछाम कालीकोटका हरेक बस्तीका छुट्टाछुट्टै बाटा छन् । पैमाको बाटो जाँदा मालिका मन्दिर थली भएर जानुपर्ने हुन्छ । मन्दिर पुगिए पनि त्रिवेणी पुग्नै पर्छ । बडीमालिका कोर्धको बाटो भएर जान बेस हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि पुगिन्छ सोता । मेलाको समयमा सोतामा चिया खाजा खान पाइन्छ । झन्डै एक घण्टाको उकालोपछि आउँछ– घोडा पाटन । आधा घण्टा लामो रमणीय पाटन क्षेत्र पार गरेपछि अर्को एक घण्टाको ओरालो र उकालो । त्यसपछि भितो चिर्ना पुगिन्छ । भितो चिर्नाबाट करिब अढाई घण्टामा त्रिवेणी पुगिन्छ । त्रिवेणीपाटन टेक्दा स्वर्गको दैलो टेकेको भान हुन्छ । आफूलाई आकाशको नजिक, बादलभन्दा माथि पाइन्छ । सूर्य, चन्द्र पनि एकदम नजिक र ठुलो आकार लाग्छ । फूलहरूको संसार विचित्रको छ । एकछिनअघिको झाडी एकैछिनमा फूलभाडी देखिन्छ । हजारौँ प्रकारका फूलको स्वर्गको बगैँचा जस्तो देखिन्छ । कोणधारी वृक्षहरू अप्सरा नाचिरहेका छन् जस्तो हुन्छ । खोला, झरनाको दृश्यावलोकनको आनन्द झनै छ । लस्करै लागेका भेडाका बथान टाढाबाट देख्दा प्रकृतिमा कालिगडले बुट्टा भरे झैँ लाग्छ ।
त्रिवेणी पाटन टेक्दा अलौकिक अनुभूति प्राप्त भयो । स्वर्गको बगैँचा कल्पना मात्रै हो, यही थियो वास्तविक स्वर्गको बगैँचा जस्तो लाग्यो । बस्यौँ, पल्टियौँ, लडीबुडी खेल्यौँ, धित मर्ने गरी पाटनको आनन्द लियौँ । धेरै पदमार्गमा जाने मौका मिलेको थियो । धेरै तीर्थस्थल पुगियो । सबै पदयात्रा र तीर्थयात्रामध्ये उत्कृष्ट यात्रा थियो बडीमालिका यात्रा ।
हाम्रो दोस्रो दिनको यात्रा त्रिवेणी गन्तव्य बनाएर अगाडि बढेको थियो । सोता पाटनमा राति सजाएका टेन्ट उठाएर उकालो बाटो लाग्यौँ । दोस्रो दिनको यात्रा रमणीय थियो । मनोरम दृश्य, अनेक प्रकारका फूल, नदी, झरना भएकाले यात्रा रोमाञ्चमय थियो । साथीहरू पनि मज्जाका थिए । गफ गर्दै यात्रालाई अझै सहज बनाइरहेका थिए । पहिलो दिनको थकान, कष्टलाई बिर्साइरहेको थियो ।
दोस्रो बास त्रिवेणीमा भयो । त्रिवेणी पुग्दै गर्दा ढुङ्गैढुङ्गाको थुप्रो त्यसैमा एउटामाथि अर्को मिलाएर राखेको सयौँ मानिस त्यतैतिर झुम्मिएका थिए । बुझ्दा किंवदन्ती रहेछ । ती त सबै देवीले विनाश गरेका दानवका अवशेष हुन् भन्ने जानकारी पाइयो । त्यहाँ ढुङ्गामा ढुङ्गा राखेर मन्दिरको आकृति बनाउने र त्यसमा पूजा गर्दै भाकल पनि गर्ने गरिन्छ । त्रिवेणीमा देवीको सेवा खातिर बस्नुपर्ने हुन्छ । त्रिवेणीको बासलाई सेवा भन्ने गरिन्छ । हामीले पनि अस्थायी बास निर्माण ग¥यौँ । केही समय आराम गरेर त्रिवेणीको अवलोकनमा निस्कियौँ । गङ्गा, यमुना, सरस्वतीको प्रकृतिका तीन नदीको सङ्गम त्रिवेणीमा पुग्यौँ । तीर्थोचित कर्म गरेर खेतीबेतीतर्फ लाग्यौँ । खेतीबेती र गलैँचा ओछ्याए जस्ता समथर ठुलठुला बाइस गरा (पाटन) ले बडीमालिका क्षेत्रलाई अनुपम बनाएको छ । खेतीबेतीमा धान पाक्न थाले जस्तो, केही ठाउँमा बिउ राखे जस्तो त केही ठाउँमा रोपाइँ भइरहे जस्तो दृश्य देखिन्छन् । बाइस पाटन भएको बडीमालिका क्षेत्रको महìवपूर्ण स्थान थियो त्रिवेणी जहाँ कर्णाली र डोटी दुई संस्कृतिको मिलन हुने गथ्र्यो ।
नागपञ्चमीका दिन नेपाली सेनाको सलामीसहित डोटीको शैलेश्वरी र कर्णालीको चन्दननाथ मन्दिरबाट मालिकाको पेटारो, सुनको गजूरसहित उठाउने गरिन्थ्यो । नेजाधाजासहितको लिङ्गो र विभिन्न सामग्रीसहित देउरा ल्याइएको हुन्थ्यो । दुवै देउराको मिलन त्रिवेणीमा हुन्थ्यो । त्रिवेणीमा देउरा मिलन हुँदा देवीको छत्र तानातान गरिन्थ्यो । कसले जित्न सक्ने भन्ने होड हुन्थ्यो । त्रिवेणीपाटन क्षेत्र पनि दुई भागमा विभक्त रहेछ । एउटा डोटी राज्यको र अर्को सिजा राज्यको दुई राज्यका प्रतिनिधिको उपस्तिथिमा देवीको स्नान गरिन्थ्यो । छत्र तानातान गर्दा डोटीले जिते पनि सिजालाई फिर्ता गरिन्थ्यो । त्यहाँबाट संयुक्त यात्रा हुन्थ्यो । कुनै बेलाका सिजा र डोटीका शक्तिशाली राज्यको सद्भाव मिलनको स्थान बडीमालिका थियो भन्ने पाइन्छ ।
त्रिवेणीमा देवीको स्नान सुरु भयो । छत्र तानातान लिङ्गो स्नानसँगै तीर्थयात्रीको सामूहिक स्नान भयो । सबैले जस्तै हामीले पनि स्नान ग¥यौँ । त्रिवेणीका तीन नदीलाई पोखरीमा राखिएको र एक सय आठ धारा बनाइएका थिए । तीर्थमा गरिने कार्य यथाशक्य सम्पन्न ग¥यौँ । ‘सेवा पुरी भैछ माता दर्शन दिए’ भन्दै त्रिवेणी स्नानसँगै अगाडि बढ्ने परम्परा थियो । त्यसैमा सामेल भयौँ । त्रिवेणीबाट बिहानै हिँडेपछि विस्तारै हिँड्ने मान्छे पनि चार घण्टामा बडीमालिका पुग्न सकिन्छ । बाटोमा विभिन्न देवीदेवताका थान रहेका थिए । उकालो ओरालो, तेर्सो गर्दै हिँड्नुपर्ने थियो । निकै भिरालो लाग्ने लौरी विनायकको ओरालो थियो । लौरी विनायकमा लौरी साटासाट गर्ने गरिन्थ्यो । लौरी विनायकमा लौरो चढाउने पनि गरिन्छ । हिँडाइमा अनकन्टार लागे पनि निकै मनोरम थियो । अग्ला अग्ला चुचुरा त्यहीबिचमा साँघुरो बाटो पार गर्दै बासुधाराको उकालो चढ्नुपर्ने हुन्थ्यो । बडीमालिका मन्दिरनजिकको पानी त्यही बासुधारा नै थियो । जसलाई सहस्रधारा पनि भनिन्छ । बासुधाराको उकालो सकिएपछि थलीमा पुगिन्छ । मालिकाको थान रहेको दिव्य क्षेत्र थली अनुपम छ । जुन गन्तव्यका लागि निकै परिश्रम गरी हिँडिएको थियौँ । त्यो गन्तव्यमा सहजै पुगियो र बडीमालिकाको दिव्य दर्शन गरियो ।
सुदूरपश्चिमतिर सात बैनी देवीको चर्चा हुन्छ । सात बैनीमध्ये मालिकालाई जेठी बहिनी मान्ने गरिन्छ । पौराणिक मान्यतामा सतीदेवीको बायाँ कुम पतन भएको स्थान मालिका शक्तिपीठ स्थापित भएको मान्यता छ । लोकमान्यतामा परापूर्वकालमा देवतागण मात्र देवीको दर्शन गर्न जान सक्थ्ये भन्ने भनाइ रहेको छ । ‘उगाड उगाड माता सुनैका केवाड दर्शन गर्न आया कैलपाल देउ’ भनेर गाइने माँगलबाट पनि पुष्टि हुन्छ । पौराणिक मान्यतामा नवदुर्गा तथा अन्य देवीका स्वरूपमा ‘कालिका काल नाशाय दुःख नाशाय मालिका’ भन्ने गरिन्छ । भागेश्वर सदाशिवबाट देवताको भाग लगाउँदा मल्लागिरि पर्वतमा मालिकाको स्थान तोकिएको लोकविश्वास रहेको छ ।
डोटेली संस्कृतिमा मालिका माताको निकै महत्व रहिआएको छ । सोल शिवालय, सात बनी भगवती र वरदानौको चर्चा पाइन्छ । हरेक शिवालयको चर्चा हुँदा मालिका जोडिएको हुन्छ । सुदूरपश्चिम र कर्णाली मात्र नभई सबै सनातन धर्मावलम्बीको आस्थाको केन्द्र हो–बडीमालिका ।
एउटा मान्यता छ मालिकाको पहिलो वासस्थान कालीकोटको द्वारेढुङ्गा भन्ने ठाउँमा थियो । त्यस्तै अर्को मान्यता छ बाजुराको बडालेकमा वासस्थान थियो । बडालेकबाट डाँफेमा चढेर देवी पन्धारको लेकमा पुगेकी थिइन् । त्यस्तै मल्लागिरि पर्वत निवासी मल्लिका देवी मालिका र बडालेकबाट मल्लिका पुगेकी बडीमालिका नामले लोक पूजित देवी मानिन्छ ।
समुद्र सतहदेखि चार हजार मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा छ महिना हिउँ जम्ने गर्दछ । भेडा, च्याङ्ग्रा, घोडा चराउन लेकतिर बनाइएको गोठ यहाँ देख्न पाइन्छ । केही तल भैँसीका गोठ बनाएका हुन्छन् । हरेक गोठमा मिठो दही पाइन्छ । निकै ठुलो भिडभाड भएकाले सामान्य दुधरोटी मात्र पाइएको थियो ।
बडीमालिकामा त्रयोदशीको राति बास बसेर चतुर्दशीको बिहानै बडीमालिकाको पूजा गरी तीर्थाटनका पर्यटक नाट्येश्वरीमा जनैपूर्णिमामा लाग्ने मेला भर्न हिँड्छन् । हामीले पनि त्यही ग¥यौँ । रातभर दर्शनार्थीको ताँती थियो । रातको २ बजे हामी पनि त्यही पङ्क्तिमा जोडियौँ । बिहान ८ बजे मालिका माताको दिव्य शिलाको दर्शन पायौँ । जाने बाटो उकालो ओरालो भए पनि जोखिम थिएन तर फर्किने बाटो निकै जोखिम थियो । चिप्लो डरलाग्दो भिरको बाटो सबैले जसरी हातगोडाको सहारामा साँझ नाट्येश्वरी पुग्यौँ । चतुर्दशीको पूजापछि बडीमालिका क्षेत्रमा कोही बस्दैनन् भन्ने मान्यता छ । तीर्थयात्री र मन्दिरका करिया, भडरिया, सन्त महन्त, पण्डा, पुजारीसँगै सबै गोठ पनि खाली हुन्छन् । सुदूरपश्चिमका पदयात्रा क्षेत्रमा सबैभन्दा राम्रो बडीमालिका नै हो । खप्तड पनि कम छैन तर खप्तडभन्दा बढी आनन्ददायी पदयात्रा बडीमालिका हो । रामारोशन, सुर्मासरोवर, धुरा तेल्यालेक, बड्डीकेदार, मल्लिकार्जुन, ग्वाल्लेक रौलाकेदार, सिगासधुरा पदयात्रा पनि महìवपूर्ण नै छन् । अपी नाम्पा, सैपाल हिमाल आरोहीका लागि निकै महत्वका रहेका छन् । आन्तरिक पर्यटन प्रवर्धनमा बडीमालिका तीर्थयात्रा, पदयात्रा अति नै उपयुक्त पर्यटकीय गन्तव्य हो ।