• ३१ असोज २०८२, शुक्रबार

प्लास्टिकका माला प्रयोग नगर्न आग्रह

blog

बुटवल समाचारदाता 

बुटवल, असोज ३१ गते । बुटवल उपमहानगरपालिकाले तिहार तथा छठपर्वका अवसरमा प्लास्टिकका फूल बिक्रीवितरण र प्रयोग नगर्न बुटवलवासीलाई आग्रह गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयले स्थानीय फूल उत्पादन र प्रवर्धन सबैको दायित्व भएको उल्लेख गर्दै, प्लास्टिक फूलको प्रयोगले वातावरणमा क्षति पु¥याउने र माटोमा नगल्ने भएकाले वातावरणीय सौन्दर्यमा नकारात्मक असर भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गर्नुभएको हो । 

उहाँले तिहारमा मात्रै नभई कुनै पनि पर्वमा स्वदेशी र प्राकृतिक फूलको मात्र प्रयोग गर्न समेत अनुरोध गर्नुभयो । तिहारकै अवसरमा रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने र देउसीभैलोमा सहभागीले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले देउसीभैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गरेको पाइए कानुन अनुसार कारबाही हुने बताउनुभयो । 

प्रजिअ पाण्डेले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति अनुसार समाजमा शान्तिसुरक्षाको प्रत्याभूति दिन प्रशासनले चाडपर्वलक्षित सुरक्षा योजना बनाई जिल्लाका १६ वटै पालिकामा परिपत्र गरिएको जानकारी दिनुभयो । प्रजिअ पाण्डेले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा कानुनको पालना गर्दै प्रशासन, सुरक्षा निकाय, आमनागरिक र निजी क्षेत्र सबै मिलेर शान्तिसुरक्षा र अमनचैन कायम गनुपर्ने अवस्था रहेको बताउनुभयो । 

सुरक्षा योजना आइतबारदेखि सुरु भइसकेको छ भने छठको अर्को दिनसम्म लागु हुने छ । सुरक्षा योजना अनुसार १६ वटै पालिकामा सादा पोसाकमा पर्याप्त प्रहरी खटाउने, सुरक्षा निकायले गस्ती बढाउने, छठघाटको स्थान निर्धारण गरी तारबार र डोरी टाँगेर दुर्घटनाबाट सुरक्षित बनाउने निर्णय भएको छ ।