• २९ असोज २०८२, बुधबार

मासुजन्य परिकार निषेध

blog

शाकाहारी गाउँ भनेर चिनिएको बर्दियाको बाभनपुरगाउँ । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता 

बबई (बर्दिया), असोज २९ गते । बर्दियाको बाँसगढी नगरपालिका–७ अन्तर्गत बाभनपुर, कालाबन्जर र सघाहपुरगाउँ पछिल्ला दशकदेखि शाकाहारी गाउँका रूपमा परिचित छन् । यी गाउँका करिब तीन सयभन्दा बढी घरपरिवारमा बसोबास गर्ने मानिसले मासु, माछा, अन्डा वा कुनै पनि मासुजन्य परिकार नखाने परम्परा जोगाउँदै आएका छन् ।

स्थानीयका अनुसार गाउँमा कसैले पनि कुखुरा, खसी, बाख्रालगायतका पशु पाल्न पाइँदैन । गाउँकै परम्परागत नियम अनुसार मासुजन्य जनावर पाल्ने वा हत्या गर्ने काम पूर्ण रूपमा निषेध गरिएको छ ।

तीन गाउँका अधिकांश बासिन्दा यादव समुदायका हुन् । उनीहरूका पुर्खाले नै शाकाहारी जीवन अपनाएका थिए र अचेल पनि उनीहरूका सन्तानले त्यही संस्कारलाई निरन्तरता दिएका छन् । स्थानीय नरेश यादवका अनुसार गाउँमा तीन सयभन्दा बढी घर शाकाहारी छन् । “यो हाम्रो गर्वको विषय हो । हामी छोराछोरीलाई पनि यही जीवनशैली सिकाइरहेका छौँ,” स्थानीय राम यादवले भन्नुभयो, “मासु खानु र पशु हत्या गर्नु पाप हो भन्ने हाम्रो विश्वास छ । यो गाउँभरिका हामी पुस्तौँदेखि शाकाहारी भएर बसेका छौँ । शाकाहारी भएर बाँच्दा मनमा शान्ति र आनन्द मिल्ने गरेको छ । गाउँभरि पशु काटमार हुँदैन ।”

यी गाउँका प्रत्येक घरमा भैँसी पालिन्छ । दुध, दही र घिउ बिक्री नै यहाँको मुख्य आर्थिक आम्दानीको स्रोत हो । भैँसीबाट उत्पादन हुने दुग्धजन्य वस्तु बिक्री गरेरै स्थानीयले शिक्षा, स्वास्थ्य र दैनिक खर्च चलाउने गरेका छन् । स्थानीय भन्छन्, “हाम्रो गाउँमा भैँसी पाल्ने नै धर्म र जीविकाको माध्यम दुवै हो ।”

बाभनपुर, कालाबन्जर र सघाहपुर गाउँ बर्दिया मात्र नभई नेपालकै उदाहरणीय शाकाहारी गाउँका रूपमा चिनिन थालेका छन् । निकटवर्ती गाउँमा मांसाहारी समुदाय बसोबास गरे पनि यी तीन गाउँले आफ्नो मौलिक परम्परा जोगाइराखेका छन् । 

स्थानीय इन्द्रा रिजालका अनुसार दशकौँदेखि यी गाउँका मानिसले मासुजन्य कुनै पनि परिकार खान छोडेका छन् । यस्तो संस्कार देशभर फैलाउन सकियो भने यो गाउँ राष्ट्रियस्तरको नमुना बन्न सक्छ ।