नवीनराज कुइँकेल
लमजुङ, असोज २९ गते । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा आयोजित जेनजी आन्दोलनमा लमजुङका सातजना घाइते भएको खुलेको छ । उनीहरुलाई उपचार खर्च लिन आउन जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै उपचार खर्चबापत बीस हजार रुपियाँ लिन परिचयपत्रसहित आउन अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना जारी गर्दै गृह मन्त्रालयबाट प्राप्त सूचीअनुसार लमजुङ स्थायी ठेगाना भएका सात जना घाइतेलाई परिचयपत्र र आर्थिक सहयोग वितरण गरिने जनाएको छ । घाइतेहरूले स्वयम् उपस्थित भई कागजात बुझाउनुपर्ने छ भने अत्यावश्यक अवस्थामा परिवारका सदस्यमार्फत पनि जानकारी गराउन सकिने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार घाइतेहरूमा सुजन अधिकारी (दोर्दी–१ भारते), लमजुङ मात्र ठेगाना उल्लेख गरिएकाहरुमा प्रभात गुरुङ, सुस्मिता गुरुङ, सुजन पौडेल, विनय घले, मध्यनेपालका अरुष गुरुङ र बेसीशहरका सुजन परियार रहेका छन् । उनीहरूको उपचार काठमाडौँ, पोखरा, चितवन, तनहुँलगायतका अस्पतालमा भएको जनाइएको छ । घाइतेहरूमध्ये दोर्दी–१ भारतेका सुजन अधिकारी भने नेकपा एमाले जिल्ला कमिटी लमजुङका सदस्य हुनुहुन्छ ।
घाइतहरुको ठेगाना राम्रोसँग खुलेको छैन । माथिल्लो निकायबाट आएको जानकारीमा घाइतको ठेगाना राम्रोसँग नखुलेका कारण सूचना जारी गर्दै आह्वान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिनुभयो । परिचयपत्र र भैपरी खर्च लिन आउँदा अस्पतालको उपचार कागजात, नेपाली नागरिकताको सक्कल प्रतिलिपि, अटो साइजको फोटो दुई थान र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि लिएर आउनुपर्ने सहायक प्रजिअ गौतमले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार घाइतेले उपस्थित भएर औँठाछाप दिनुपर्ने भएकाले स्वयम् उपस्थित हुन अनिवार्य छ ।
देशव्यापी भएको जेनजी आन्दोलनका क्रममा लमजुङ शान्तपूर्ण भए पनि लमजुङ स्थायी घर भई देशका विभिन्न स्थानमा बस्दै आएकाहरु आन्दोलनका क्रममा घाइते भएका थिए । घाइतेहरुलाई सम्बन्धित जिल्लाबाटै परिचयपत्र र भैपरी खर्च उपलब्ध गराइने भएकोले सम्बन्धित जिल्लाकै प्रशासन कार्यालयमा सम्पर्क गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।