• २९ असोज २०८२, बुधबार

विवादले कर्मचारी तलबविहीन

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असोज २९ गते । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको झगडाका कारण कर्मचारीले सात महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन । गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी तलब नपाएपछि मर्कामा परेका हुन ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर परियारबिचको झगडाले गाउँपालिकाभित्रका करिब तीन सयभन्दा बढी कर्मचारीले तलब पाउन सकेका छैनन् । चाडपर्वका बेलासमेत पारिश्रमिक पाउन सकेनन् ।  

जुनीचाँदे गाउँपालिका–४ का वडाध्यक्ष हरिबहादुर खड्काका अनुसार कर्मचारीलगायत सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले पनि पाएका छैनन् । तलब र सामाजिक सुरक्षा भत्ता नपाउँदा बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएको छ ।  

उहाँका अनुसार प्रमुख व्यक्ति जिम्मेवार नबनेपछि शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलगायत सामाजिक सुरक्षा भत्ताको आशा गरेका ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति निराश भएका छन् । प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षलाई सम्झाएपछि आफ्नो माग नछोडेपछि समस्या भएको उहाँले बताउनुभयो । 

जुनीचाँदे गाउँपालिकाका सूचना अधिकारी खिमबहादुर बस्नेतले प्रमुखका कारण गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको बताउनुभयो । आफूले पाउने तलब, सुरक्षा भत्ता लिएर चाडपर्व मनाउने आशा गरेका सर्वसाधारण, कर्मचारीलाई निराश बन्नु परेको छ । सामाजिक सुरक्षा भत्तामा आश्रित र जोखिममा परेका व्यक्तिलाई छाक टार्न समस्या भएको छ । 

कर्मचारी, शिक्षक दसैँ बिदामा रित्तो हात घर गएका थिए । गाउँपालिका अध्यक्ष, उपाध्यक्षले सामान्य प्रशासन मन्त्रालय पुगेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेका थिए । उक्त सरुवालाई बदर गरी जुनीचाँदे गाउँपालिका कायम गर्न पुनः प्रमुख प्रशासकीय अधिकृत पुगेपछि यस्तो अवस्था आएको हो । 

जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउने भएपछि शिक्षा शाखाका प्रमुखलाई निमित्तको जिम्मेवारी दिएर तलब खुवाउन पहल गरे पनि अध्यक्ष, उपाध्यक्षले बेवास्ता गरेका कारण समस्या जटिल बनेको बताउनुभयो ।