पशुपतिनगर समाचारदाता
पशुपतिनगर (इलाम), असोज २९ गते । असोज १८ गते रातिको अविरल वर्षासँगै खसेको पहिरोले माईजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा क्षति पु¥याएको छ । गाउँपालिकाको भवनभित्रै बाढी पस्दा एक करोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
लेदोसहितको पहिरोले भवनका सबै कोठा पुरिएको गाउँपालिकाका विपत् फोकल पर्सन गोकुल सन्जेलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र रहेको प्रविधि शाखा र लेखा शाखामा पूरै क्षति गरेको छ । अन्य शाखा पनि पहिरोले पुरिएको छ । पहिरोले पालिकाभित्र रहेका सबै झ्याल नष्ट भएका छन् भने एक दर्जनभन्दा बढी ल्यापटप, कम्प्युटर, दराज, टेबुल, कुर्सी, कार्पेट आदिको क्षति भएको छ ।
पालिकाभित्रको लेदो हटाउन नेपाली सेना र सशस्त्र प्रहरीले कोसिस गरे पनि सम्भव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो । पालिकाभित्रको माटो निकाल्न पर्याप्त जनशक्ति हुँदा अझै तीन÷चार दिन लाग्ने छ । सन्जेलका अनुसार विपत्को समयमा कार्यालयभित्र पस्नेसम्म अवस्था नभएपछि पालिकालाई काम गर्नसमेत समस्या भएको छ ।
पालिकामा भएको क्षतिबारे इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसहित सुरक्षा प्रमुखले अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बाढीपहिरोले माईजोगमाई–६, प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै पालिकाभित्र ४७ घरपरिवार पूर्ण रूपमा र ८० घरपरिवारको आंशिक क्षति भएको कार्यालयले जनाएको छ ।
बाढीले पालिकाभित्र रहेका रुलुक, अर्चले पुल, जोगमाईखोला बेलिब्रिज बगाएको छ भने माईखोला वज्रदेवीको पक्की पुलको एक भागमा क्षति गरेको छ । गाउँपालिकामा बसेको सर्वदलीय बैठकले गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको संयोजकत्वमा राहत वितरण समन्वय समिति गठन गरेको छ ।
बाढिपहिरोलगायतका प्राकृतिक प्रकोपका कारण पुग्न गएको भौतिक तथा मानवीय क्षतिपछि विभिन्न दातृ संस्था, निकाय तथा व्यक्तिबाट गाउँपालिकामा प्राप्त भएका राहत, जिन्सी सामग्री वितरणका लागि स्थानीय राजनीतिक दल र सरोकारवाला सम्मिलित पालिकास्तरीय विपत् राहत वितरण तथा उद्धार समन्वय समिति गठन गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष प्रवीणा राईले पालिकाका सबै ठाउँमा बाढीपहिरोले क्षति गरेका कारण भएका स्रोतसाधन प्रयोग गरी सडक खुलाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले राहत वितरणसँगै पीडितको पुनस्र्थापनाका लागि सबैसँग समन्वय भइहेको जानकारी दिनुभयो ।